हटाइयो लुकिछिपी फुटपाथमा व्यवसाय गर्नेलाई

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, १७ : २९
हटाइयो लुकिछिपी फुटपाथमा व्यवसाय गर्नेलाई

चितवन । लुकिछिपी सडकमा फुटपाथ व्यवसाय बढ्न थालेपछि भरतपुर महानगरले ती व्यवसायीलाई फुटपाथबाट हटाएको छ । भरतपुर महानगरपालिकाले सडकमा फुटपाथ व्यवसाय गर्न यसअघि नै रोक लगाइसकेको छ ।
महानगरले बालकुमारी कन्या माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर फुटपाथ व्यवसाय गर्नेलाई छुट्टै ठाउँ तोकिदिएको छ । तर पनि फुटपाथ व्यवसायीले महानगरले दिएको ठाउँमा नबसी सडकमा आएर व्यवसाय गरेपछि बिहीबार नगर प्रहरीले उनीहरुलाई हटाउँदै महानगरले दिएको ठाउँमा जान भनेको हो ।
भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने परिकल्पनास्वरुप फुटपाथ व्यवसायलाई सडकबाट हटाइएको हो । ‘महानगरले फुटपाथ व्यवसायीलाई ठाउँ दिएको छ, उनीहरु महानगरले दिएको ठाउँमा जानु प¥यो, सडकमा व्यापार गर्न मिल्दैन’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो ।
उहाँले सफा स्वच्छ, हराभरा महानगर बनाउने गृहकार्य भइरहेको बेलामा फेरि सडकमा व्यापार गर्न त सुहाउने कुरो नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला ठाउँ नभएर सडकमा व्यापार गरे, अब त महानगरले ठाउँ दिएपछि त्यही ठाउँमा गएर व्यापार गर्नु पर्छ ।’ महानगर प्रमुख रेनु दाहालले नियम विपरीत बलमिच्याइँ गर्नेलाई कारबाही हुने बताउनु भयो ।
सडकमा बसेर व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याइने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले बताउनु भयो । फुटपाथ व्यवसायीहरुले बिहीबार केहीबेर महानगरको गेटमा धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस