एसिड प्रहारका काण्डैकाण्ड : किन र कसरी बढ्यो ? के छ कारबाही ?

विहीबार, ११ असोज २०७५, १३ : ३०
एसिड प्रहारका काण्डैकाण्ड : किन र कसरी बढ्यो ? के  छ कारबाही  ?

चितवन । २०७५ असोज आठ गते सोमबार साँझ कावासोती डण्डाकी वसन्ती परिवारलाई उनकै छिमेकी विमल श्रीपालीले एसिड हाने । २७ वर्षकी वसन्ती यतिबेला भरतपुर अस्पतालमा मृत्युसँग लडिरहेकी छन् । बिमल कावासोती प्रहरी कार्यालयमा ज्याकिएको छ ।
२०७५ भदौ २६ गते एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको असोज ७ गते मृत्युसँग लड्दालड्दै प्राणपखेरु उड्यो । एसिड लागेर घाइते भएकी सम्झनाकी १४ वर्षीय बहिनी अस्पतालको बेडमा छटपटाइरहेकी छन् ।
एसिड हानेको अभियोगमा प्रहरीले सम्झनाका छिमेकी ४५ वर्षीय रामबाबु पासवान (जसलाई सम्झानाले ठूलो बुबा भन्थिन्) लाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । यौन प्रस्ताव नमान्दा पासवानले एसिड हानेको मृतक सम्झनाले बाँच्नु अघि नै बयान दिएकी थिइन् । 
गत वैशाख ९ गते चितवन भरतपुर महानगरपालिका ४ मा डेरा गरी बस्ने गोर्खा घर भएकी कल्पना श्रेष्ठलाई ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले एसिड छ्यापेका थिए । 
२०७३ माघमा एसिड छ्यापिएकी नवलपरासीकी २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा ज्यान गएको थियो । उनलाई परिचित युवा सुनील कोइरालाले एसिड हानेका थिए ।
२०७१ साल फागुनमा काठमाडौँमा ट्युसन पढ्न गएका दुई किशोरी  संगीता मगर र सीमा बस्नेतलाई एसिड छ्यापियो । एसिड छ्याप्ने जीवन विक यतिबेला प्रहरी खोरमा जीवन गुजारिरहेका छन् । २०७० गोंगबु बानियाँटारमा उर्मिला श्रेष्ठ अज्ञात व्यक्तिको एसिड आक्रमणमा परिन् । २०६९ भदौमा काठमाडौँको कोटेश्वर नरेफाँटमा मीरा केसी पनि अज्ञात व्यक्तिको एसिड आक्रमणमा परिन् । 

यसरी लगातार एसिड आक्रमण भइरहँदा नेपाली समाज भयभित भइरहेको छ । जसले जतिबेला पनि एसिड हान्न सक्ने अवस्था समाजमा देखिएको छ । त्यसैले हत्या, हिंसा, लुटपाट र बलात्कारका घटनासँगै एसिड काण्डका घटना पनि नेपालीमा समाजमा मौलाइरहेको छ । 
‘एसिडका घटना बढिरहेका छन्, अपराधी मनोवृत्ति भएका मानिसहरुले एसिड हानेको पाइन्छ । त्यस्ता अपराधी मनोवृत्ति भएका मानिससँग जोगिन पर्ने अवस्था सिर्जना भएको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार प्रेममा असफल भएर, प्रेम प्रस्ताव राख्दा अस्वीकार भएर, प्रतिशोधको भावना लिएर एसिड आक्रमण भएका छन् ।
प्रहरी उपरीक्षक राठौरले भन्नुभयो, ‘युवकयुवती लभ गर्छन्, लभमा कुराकानी मिल्दैन, त्यसपछि युवकले उसको सुन्दरता कुरुप बनाइदिन एसिड हान्छ ।’ समाज लभ अफेयरले केही विकृत बन्दै गएको उहाँको भनाइ थियो । उहाँका अनुसार भारतीय फिल्महरुमा एसिड हानेका धेरै दृष्यहरु देख्न सकिन्छ, त्यसले पनि केही प्रभाव पारेको हुनसक्छ ।   
‘कतै सुन्दर हुनुपनि अभिशाप भएको छ, त्यो सुन्दरता कुरुप बनाउनको लागि पनि एसिड प्रहार भइरहेको छ’ प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । एसिड हान्ने घटना भारतमा बढी हुने र पछिल्लो समय नेपालमा पनि बढिरहेको उहाँको भनाइ थियो । किशोरी, युवतीमाथि नै धेरै एसिडका घटना बढेका छन् । 
बजारमा एसिड पाउन धेरै कठिन छैन, यसको नियमन गर्न जरुरी भएको प्रहरी उपरीक्षक राठौरले  बताउनुभयो ‘एसिड लिन आउने मान्छेलाई विक्रेताले अब किन र केका लागि भनेर सोधपुछ गर्न जरुरी छ, किन्न आउने मान्छेको मो नं लिने अनि उसको परिवारसँग सोधपुछ गरेर मात्र दिने अवस्था सिर्जना हुनुपर्छ’ प्रहरी उपरीक्षक राठौरले भन्नुभयो । 
उहाँका अनुसार सहजै रुपमा उपलब्ध हुने एसिडले नै आज धेरै किशोरी र युवतीहरुको ज्यान लिइरहेको छ । एसिड आक्रमणको घटना बढेको हुनाले यसको विक्री वितरणमा कडाइ गर्न आवश्यक भएको उहाँको भनाइ छ । एसिड घरायसी काममा समेत प्रयोग हुने भएकाले बोकेर हिँड्दैमा शंका गर्ने अवस्था पनि हुँदैन ।

एसिड आक्रमणबाट शरीरको ३५ प्रतिशत भाग जलेको भए बाँच्ने सम्भावना कम हुन्छ । एसिड आक्रमणमा परेर मृत्यु भएकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको ३५ प्रतिशत भाग एसिडले जलेको थियो ।
२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३ (२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा दिएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ ।
त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ ।  
एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ । मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस