खानेपानीमन्त्री बीना मगरले के गर्दैछिन् सिंहदरबारमा ?

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, ०९ : ०७
खानेपानीमन्त्री बीना मगरले  के गर्दैछिन् सिंहदरबारमा ?

काठमाडौं । जतिबेला माओवादी नेतृ बीना मगर खानेपानी मन्त्री बनेर सिंहदरबार छिरिन्, धेरैले सोचे, ‘प्रचण्डले बुहारी भएकै कारण बीनालाई मन्त्री बनाए । केही मीडियाहरुले बुहरी मन्त्री भन्दै व्यङ्ग पनि गरे ।’ तर, अहिले उनको कामले मन्त्रालयभित्र र बाहिर राम्रै चर्चा पाएको छ । मन्त्री हुनेबित्तिकै बीनाले पाँच कुरालाई प्राथमिकतामा राखिन्, खानेपानी ऐन निर्माण, मन्त्रालयलाई सङ्घीय ढाँचामा रुपान्तरण, मेलम्ची आयोजनाको पूर्णता, गृहणीहरुका लागि खानेपानीको प्राथमिकता र सुशासन । अहिले मन्त्री बीना यिनै प्राथमिकता कार्यान्यवनको काममा तालिकासहित उत्रिएकी छिन् ।

यस बीचमा मन्त्री मगर दर्जनौंपटक मेलम्ची र सुन्दरीजल धाएकी छिन् । ‘बीरवलको खिचडी’ मानिने मेलम्ची आफ्नै कार्यकालमा पुरै सम्पन्न गर्ने बीनाको लक्ष्य छ । सकेसम्म छिटो पानी ल्याउन उनले मन्त्रालयको सम्पूर्ण शक्ति र सामर्थ्यमा लगाएकी छिन् । मेलम्चीको प्रगति प्रतिवेदनले भन्छ, ‘बीचमा धिमा गतिमा चलिरहेको मेलम्ची उनी आएपछि रफ्तारमा छ ।’ यस बीचमा दर्जनौंपटक मेलम्ची बोर्ड, ठेकेदार कम्पनि, परामर्शदाता लगायतका सम्वद्ध निकायसँग उनले सघन अन्तरक्रिया गरेकी छिन् । प्रगति बिवरण हेर्दा उनी यसअघिका मन्त्रीभन्दा अब्बल देखिएकी छिन् ।
मन्त्री बीनाले दैनिकजसो मेलम्चीको रिपोर्ट मात्र लिएकी छैनन्, फिल्डको अनुगमन गर्न सचिवालयबाट टोली नै खटाएकी छिन् । मेलम्चीका साथै काठमाडौंमा खानेपानीको बैकल्पिक स्रोत व्यवस्थापनको गृहकार्यमा छिन् उनी । भोलि कुनै बेला प्राकृतिक बिपत्ति वा अन्य कारणले मेलम्चीमा समस्या आउँदा उपत्यकामा पानीको समस्या नहुने उपायका लागि विज्ञ र कर्मचारीहरुसँग उनले अन्तरक्रिया थालेकी छिन् ।
गृहणीका समस्यामा मन्त्रीले विशेष चासो देखाउन थालेकी छिन् । आघा घण्टाभन्दा टाढा पानीको मुहान भएका स्थानका जनताले गुनासो टिपाउन उनले सार्वजनिक अपील नै गरिसकेकी छिन् । मन्त्री मगर भन्छिन्, ‘अहिले पनि नेपालमा गृहणी महिलाहरुले खानेपानीको ठूलै समस्या भोग्नु परिरहेको छ, त्यसको समाधानका लागि ठोस योजना बनाएको छु । बीनाले देशैभरि खानेपानी मुहान, प्रशोधन केन्द्र र ट्याङ्करहरुको अनुगमन गरेकी छिन् । साथै ढलको व्यवस्थापनको अवस्थाबारे जानकारी लिन ठूलो व्यवसायिक केन्द्रहरुमा अनुगमन समेत गरेकी छिन् । अनुगमनपछि प्राप्त रिपोर्टका आधारमा कार्यविधि बनाउन मन्त्रालयले २ वटा कार्यदल समेत बनाइसकेको छ ।
यसअघि नेपालमा खानेपानी ऐन नै थिएन । जलस्रोत ऐन लगायतका ऐनहरुबाटै खानेपानी सम्बन्धि समस्याको समाधान खोजिन्थ्यो । उपभोक्ताको स्वास्थ्यमा कसैले प्रतिकूल असर पार्ने कार्य गरेमा त्यो कानूनी दायरामा आउँदैनथ्यो । उपभोक्ता संरक्षण सम्बन्धि ऐनले खानेपानीबारे बोल्दैनथ्यो । बीना आएपछि पहिलोपटक खानेपानी ऐनको मस्यौदा तयार भएको छ । कानून र अर्थ मन्त्रालयको स्वीकृतिपछि त्यो मस्यौदा ‘क्याबिनेट’ हुँदै संसदमा पुग्नेछ ।

उर्जाशील, हँसिलो स्वाभाव, सबैका सकारात्मक सुझावलाई छिटै ग्रहण गर्ने, जनता र कर्मचारीसँग राम्रो समन्वय गर्ने कार्यशैली छ उनको । हर क्षण केही गरौं भन्ने उत्प्रेरणा जाग्छ उनलाई । चुनौतिसँग खेल्नसक्ने र सिर्जनशील भएर सोच्ने शक्तिकै कारण उनी छोटै समयमा राजनीतिमा स्थापित भइन् पनि । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘चुनौतिसँग खेल्नसक्ने र जनता नछोड्ने कार्यशैली नै उनको सम्पत्ति हो ।

खानेपानी मन्त्रालयमा आउने प्रायः मन्त्रीहरुको कार्यकाल गुमनाम सकिन्थ्यो । तर, बीना मगर त्यसको अपवाद हुन् । उनी जनताका दैनिक समस्या सम्बोधन र रणनीतिक महत्वका विषयमा क्रियाशील छन् । उनको कार्यकालमा मन्त्रालयले कति प्रगति गर्ला, त्यसका लागि भने केही समय प्रतीक्षा गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस