अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिङ्गापुर जाँदै

सफल खबर संवाददाता

बुधबार, १० असोज २०७५, १९ : ४४
अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिङ्गापुर जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार राति सिङ्गापुर प्रस्थान गर्दैछन् । सुगर, प्रेसर, थाइराइड लगायतका समस्याबाट ग्रसित पत्नी सीता दाहालको नियमित स्वास्थ्य परीक्षणका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान गर्न लागेका हुन् । दुई महिना अघि पनि पत्नी दाहालको उपचारका लागि प्रचण्ड सिङ्गापुरमा १५ दिन बसेका थिए ।

पत्नी दाहालको ‘वाटर थेरापी’बाट उपचार भइरहेको छ । डाक्टरको सल्लाहअनुसार नेपाल फर्केपछि पनि दाहालले ‘वाटर थेरापी’ गरिरहेकी छिन् । दाहालको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै प्रचण्ड निवास खुमलटारमा वाटर थेरापीका लागि ‘स्वीमिङ पुल’ बन्दैछ । प्रचण्डको सिङ्गापुर भ्रमण नितान्त पारिवारिक भएको उनको सचिवालयले जनाएको छ । ‘प्रचण्ड पत्नीको स्वास्थ्य उपचार र नियमित परीक्षणकै क्रममा सिङ्गापुर जान लाग्नुभएको हो’ खुमलटार स्रोतले भन्यो, ‘त्यसबाहेक कुनै कार्यक्रम छैन ।

‘प्रचण्ड भर्खरै मात्र मित्रराष्ट्र भारत र चीनको भ्रमण गरी प्रचण्ड स्वदेश फर्किएका छन् । उनको भारत र चीन भ्रमणलाई कतिपयले सत्ता परिवर्तनको संकेतका रुपमा अपव्याख्या गर्न खोजे पनि ‘प्रचण्ड भ्रमण’को एक मात्र उद्देश्य वामपन्थी सरकारका लागि छिमेकीको सद्भाव र सहयोग जुटाउनु थियो ।

भ्रमणमा जानुपूर्व प्रचण्डले भनेका थिए, ‘नेपाली इतिहासमा पहिलोपटक शक्तिशाली वामपन्थी सरकार बनेको छ । यो सरकार सफल भए मात्र कम्युनिष्ट पार्टी र आन्दोलन सफल हुन्छ । अहिलेको सरकारलाई सफल पार्नु नै मेरो एक मात्र उद्देश्य हो, त्यही प्रयोजनका लागि दुवै छिमेकी देशको भ्रमण गर्छु ।

‘हामी आर्थिक समृद्धि र विकासको नयाँ यात्रामा छौं, हाम्रा छिमेकीबाट अधिकतम सहयोग लिएर समृद्धिको यात्रालाई उचाईमा पुर्याउन सकिन्छ’ प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्रीजी र वर्तमान सरकार सफल भए मात्र कम्युनिष्ट पार्टी सफल हुन्छ, शक्तिशाली हुन्छ । मेरो एक मात्र उद्देश्य सरकारलाई सफल पार्नु हो ।
प्रचण्डको सिङ्गापुर भ्रमण कति दिनका लागि हो ? त्यो एकिन छैन । तर, पत्नी दाहालको स्वास्थ्य परीक्षण सकेर प्रचण्ड जतिसक्दो छिटो नेपाल फर्कनेछन् । त्यसो त पार्टी एकताको प्रारम्भिक चरणको काम सकिएको र प्रधानमन्त्री पनि देशबाहिर रहेका कारण प्रचण्ड पार्टी कामको चापमा छैनन् ।
छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको अल्पायुमै निधन भएपछि प्रचण्डले पत्नीको स्वास्थ्य र परिवारका सदस्यहरुका समस्यामा बढी चासों दिन थालेका छन् । अहिलेको सिङ्गापुर भ्रमण पनि त्यसैको कडी भएको प्रचण्डको पारिवारिक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस