विप्लव नेतृत्वको नेकपा  रोल्पाले गरेको बन्दका कारण यातायात प्रभावित

बुधबार, १० असोज २०७५, १३ : ०१
विप्लव नेतृत्वको नेकपा  रोल्पाले गरेको बन्दका कारण यातायात प्रभावित

रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार र शिक्षण संस्थासमेत बन्द भएको छ । 

जिल्ला सेक्रेटरी सन्तोष सुवेदीको पक्राउको विरोधमा जिल्ला बन्द आह्वान गरेको सो पार्टीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका कार्यवाहक सेक्रेटरी विश्वले विज्ञप्ति प्रकाशित गरी पार्टीको शान्तिपूर्ण कार्यक्रममा सहभागी भएका सेक्रेटरी सुवेदीको पक्राउको विरोधमा बन्द आह्वान गरिएको बताउनुभयो । 

जिल्ला सेक्रेटरी सुवेदीसहित जिल्ला कमिटी सदस्य सूर्यलाई हिरासतमा राखिएको सो पार्टीले जनाएको छ । 

जलजला सांस्कृतिक परिवारले धवाङको साउनेपानीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेरिरहेका सुवेदीलाई प्रहरीले असोज १ गते पक्राउ गरेको सो पार्टीले जनाएको छ । 

प्रतिनिधिसभा निर्वाचनका क्रममा यसअघि पनि लामो समय हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् । सन्तोष तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता झक्कु सुवेदीका छोरा हुन् । (रासस) 

प्रतिक्रिया दिनुहोस