संसदको गतिरोध चाँडै अन्त्य हुन्छ : रास्वपा

सफल खबर संवाददाता

शुक्रबार, ११ जेठ २०८१, १८ : ५३
संसदको गतिरोध चाँडै अन्त्य हुन्छ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदको गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने सहमति दलहरूका बीचमा छ । ‘समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलबाट निष्कर्ष निस्केला जस्तो छ कि छैन रु’ भन्ने पत्रकारको प्रश्नमा परियारले भने, ‘गज्जब हुनेवाला छ, आइतबार मज्जाले हाउस अगाडि जान्छ ।’

शुक्रबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आगामी आइतबार बिहान ११ बजे बस्दैछ । संसद सचिवालयका अनुसार शुक्रबारका लागि तय भएको नीति तथा कार्यक्रममाथि छलफल र पारित गर्ने कार्यसूची आइतबारका लागि सरेको छ ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

तर, अब आइतबार बस्ने संसद बैठक सौहार्द हुने विश्वास रास्वपाका प्रमुख सचेतक परियारले राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस