पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १६ : ०६
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने

वीरगन्ज । भारत विहारसँग सीमासँग जोडिएका पर्साका सीमा नाका दुई दिनसम्म बन्द हुने भएको छ । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा १२ जेठमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरी सीमा नाका बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै सीमा नाका बन्द रहने जानकारी गराएका छन् । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि गत फागुन ५ गते जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्वाचन सुरु हुनुभन्दा ४८ घण्टा अघि भारतसँग जोडिएका जिल्लाहरूको सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० गतेदेखि १२ गतेसम्म सीमा नाका बन्द रहने जानकारी गराएको छ ।

बिहारको पश्चिम चम्पारण, बेतियाले शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्राचार गर्दै सीमा नाका बन्द गर्न अनुरोध गरेको थियो ।  सूचनामा १० गते बिहान ६ बजेदेखि १२ गते बेलुकी ६ बजेसम्म नाका बन्द रहने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस