तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १३ : १७
तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग

काठमाडौँ । हिजोआज धेरै मानिसहरू चिया सिड (बिउ)को सेवन गरिरहेका छन् । देख्नमा साना यी दाना पोषक तत्त्वहरूको खजाना हुन् । धेरैले यसलाई पानी वा दूधमा मिसाएर खाने गरेका छन् । यसलाई सलादमा ड्रेसिङको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई भुटेर पनि खान सकिन्छ ।

पोषक तत्त्वको कुरा गर्दा चियाको दानामा फाइबर, प्रोटिन, ओमेगा–३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट, कपर, आइरन, म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि प्रशस्त मात्रामा पाइन्छ । कतिपयले तौल घटाउनकै लागि चियाको बीउ खाने गरेका छन् । त्यसोभए चिया सिड खाँदा वजन घटाउन मद्दत मिल्छ त ?

आफ्नो आहारमा चियाको दाना समावेश गर्दा स्वतः वजन घट्दैन । तपाई पनि तौल घटाउन खोज्दै हुनुहुन्छ भने सन्तुलित र पौष्टिक आहार सेवन गर्नु उपयोगी साबित हुन सक्छ । चिया सीडमा प्रोटिन र फाइबर भरपुर मात्रामा पाइन्छ । यी दुवै तौल घटाउनमा सहयोगी हुन्छन् ।

चिया सीड र अदुवा दुवैले भोक घटाउन सहयोग गर्ने केही अध्ययनले देखाएका छन् । लामो समयसम्म पेट भरिएको महसुस हुँदा के खाऊँ के खाऊँ हुँदैन । अतिरिक्त क्यालोरीको उपभोग गर्नबाट बचिन्छ । यसले पेटमा जम्मा भएर बस्ने बोसोसहित तौल घटाउन सहयोग गर्न सक्छ ।

तौल घटाउन यसरी गर्नुस् चिया सिडको प्रयोग:

१. चिया सिडमा धेरै फाइबर हुन्छ । त्यसैले यसले छिट्टै भोक लाग्नबाट रोक्छ । बिहान स्मुदीमा एक चम्चा चिया सिडलाई मिसाएर खान सकिन्छ ।

२. सलादमा केही दाना चिया सिड राखेर खान सकिन्छ ।

३. चियाको दानालाई पिसेर सोही धुलोबाट केही बनाउन सकिन्छ । चिया सिडको धुलो वा सिङ्गै दानालाई दूधमा मिसाएर पिउन पनि सकिन्छ ।

४. चिया सिड पानी पनि सेवन गर्न सकिन्छ । एक चम्चा चिया सिडलाई एक गिलास पानीमा हालेर २०–३० मिनेटसम्म छोड्नुहोस् । त्यसपछि सिड भिजाउन राखिएको पानीलाई पिउन सकिन्छ ।

५. चकलेट, सुकेका बदाम, ड्राई फ्रुट्स, फर्सीलगायत बियाँहरू आदि मिसाएर बनाइने ट्रेल मिक्समा पनि चिया सिडलाई हालेर खान सकिन्छ । 

प्रतिक्रिया दिनुहोस