विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १३ : ०३
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

दाङ ।  नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताए ।

“यो गठबन्धन नेपालका राजनीतिक दललाई बाह्य हस्तक्षेप बिना निर्णय प्रक्रियामा प्रवेश गर्नुपर्दछ, भन्ने प्रयास हो”, उनले भने, “यो प्रयासमा चित्त नबुझ्नेहरु अस्थिरता सिर्जना गर्ने ध्याउन्नमा छन् ।

साना दललाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेको उनले जानकारी दिए । विगतमा एमाले फुटाउन ल्याइएको २० प्रतिशतको कानुनअनुसार अहिले साना दलमा फुट आएको उनले बताए । दललाई फुटाउन अहिले २० प्रतिशत ल्याएको भनी गलत सन्देश दिन खोजिएको उनको भनाइ छ ।

संसद्‌मा भइरहेका गतिविधिले सुखद सन्देश नदिएको उनको धारणा छ । “आफूमाथि लागेको आरोपका विषयमा संसद्मा बोल्न पाउनुपर्छ, भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन, बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, सङ्घर्ष भएको हो”, उनले भने, “एउटा पार्टीको सभापतिले म माथि लागेको आरोपलाई संसद्मा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु उचित होइन ।”

नेपालमा राजनीतिक अस्थिरता, अराजकता र मौलिक संस्कृति माथि अतिक्रमण मुख्य समस्या रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको उनले बताए ।

अब नेपालमा व्यवसायी गर्न सहज वातावरण निर्माण गर्नेतर्फ लाग्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ ।   उनले टरिगाउँ विमानस्थलमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको बताए । 

प्रतिक्रिया दिनुहोस