ग्लोबल आईएमई बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाईडीका गाडी किन्दा सहज कर्जाको व्यवस्था

सफल खबर संवाददाता

आइतबार, ०६ जेठ २०८१, १२ : ४०
ग्लोबल आईएमई बैंक र साइमेक्स इंकबीच सम्झौता, बीवाईडीका गाडी किन्दा सहज कर्जाको व्यवस्था

काठमाडौं।  ग्लोबल आईएमई बैंक लिमिटेड र साइमेक्स इंक प्रालिबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारीअनुसार बैंकले साइमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरूले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात नियमानुसार बैकले उचित ठहर्‍याएका ग्राहकलाई ३ कार्य दिनभित्र सहजरूपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

​​ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।उक्त समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र साइमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा शोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस