एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सफल खबर संवाददाता

बुधबार, ०२ जेठ २०८१, १४ : १८
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ ।‘हामीले विश्वासको मत दिन ह्विप लगाएका छौँ’ संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने ‘विश्वासको मत दिने र सरकार बाहिरैबाट हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’

एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले करिब विश्वासको मत पाउने निश्चित जस्तै भएको छ ।२१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो ।

वैशाख ६ गते एमाले, माओवादी नेकपा एकीकृत समाजवादी रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जेठ ४ गते सम्म उनले विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोडारीले एक दिन अघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ ।सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् ।

सोडारीले विश्वासको मत पाए लगत्तै सरकार विस्तार हुने छ । अहिले सम्म सोडारी सहित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएको थिए । ती बाहेकका माओवादी र एमाले अहिले पनि सरकार बाहिर छन् ।

माओवादीले विश्वासको मत लगत्तै सरकारमा जाने रणनीति लिए पनि एमालेले भने अर्को निर्णय नहुँदा सम्म सरकारमा नजाने बताएको छ ।नीति कार्यक्रम र प्राथमिकताको लागि कार्यदल बनाएर विज्ञहरूको सुझाव लिने पनि एमालेले निर्णय गरेको छ । संसदीय दलकै नेता रावलको संयोजकत्वमा सबै सांसदहरूले विश्वविद्यालयका प्राध्यापकहरू र अन्य विज्ञहरूसँग शुक्रवार र शनिवार परामर्श गरेर उत्कृष्ट नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्ने निर्णय गरिएको छ ।

बझाङबाट निर्वाचित एमाले सांसद दमन भण्डारीलाई बधाई ज्ञापन तथा उहाँको बुवाको निधन प्रति संसदीय दलले दुख प्रकट गरेको छ । मुख्यमन्त्री दीर्घ सोडारीलाई न्यूनतम साझा कार्यक्रम तयारीको लागि सत्ता गठबन्धनका दलहरूसँग छलफल र परामर्श गर्न पनि सुझाव दिइएको दलका नेता रावलले जानकारी दिए ।