कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाउन मन्त्री चौधरीको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १९ : ३४
कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाउन मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन निर्देशन दिएकी हुन् । ‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भनिन्, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस् ।’

समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताइन् । जति सक्दो सहज र छिटो छरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै मन्त्री चौधरीले परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न निर्देशन दिइन् ।

कर्मचारीको वृत्ति विकास तथा कार्य सम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको भन्दै उनले कर्मचारीबिच विभेदजन्य व्यवहार हुन नहुने बताइन् । मन्त्री चौधरीले कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिइन् । ‘कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडी बढाउनुस्’, उनले भनिन्, ‘कर्मचारीबिच विभेद नगर्नुस् । नयाँले पनि पुरानाहरूलाई कामहरू सिकाउनुपर्छ । उनीहरूलाई तालिमको व्यवस्थापन, वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्छ ।’ उनले छुट्टै कर्मचारी नियमावली ल्याएर पनि कर्मचारीहरूको व्यवस्थापन गर्न सकिने बताइन् । मानव स्रोत व्यवस्थापन तोकेर कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै मन्त्री चौधरीले आवश्यक तालिम, सेमिनार, गोष्ठीको व्यवस्थापन गर्न निर्देशन दिइन् ।

परिषद्का पदाधिकारी तथा कर्मचारीहरूलाई मिलेर काम गर्न निर्देशन दिँदै उनले एकले अर्काको सम्मान गर्दै अगाडि बढेमा संस्थालाई मर्यादित बनाउन सकिने बताइन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यहरू विधिसंम्मत् सहज रूपमा अगाडी बढाउन पदाधिकारी, कर्मचारीहरू एकजुट भएर अगाडी बढ्न समेत उनको निर्देशन छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समयमै बनाउन परिषद्का कोषाध्यक्षलाई निर्देशन दिँदै उनले बजेट, नीति तथा कार्यक्रम बनाउँदा परिषद्का अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिवसँग परामर्श, सल्लाह, समन्वय गरेर अगाडि बढ्न कोषाध्यक्षलाई निर्देशन दिइन् । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीले कर्मचारी भनेको संस्थाको हातखुट्टा भएको भन्दै कर्मचारी र पदाधिकारीबिच एक आपसमा समन्वय भएर अगाडि बढ्न आवश्यक रहेको बताए । समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले संस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने भन्दै संस्थाप्रति बाहिर बढेको गलत कुराहरूलाई निमिट्यान्न पार्नका निम्ति सबै लाग्न आग्रह गरे । परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस