संयुक्त रुपमा सगरमाथाको उचाई पुनः नाप्ने भारतको अफर नेपालद्वारा अस्वीकार

एजेन्सी

बुधबार, १२ पुस २०७४, १९ : ४३
संयुक्त रुपमा सगरमाथाको उचाई पुनः नाप्ने भारतको अफर नेपालद्वारा अस्वीकार

काठमाडौँ । सगरमाथाको उचाई संयुक्त रुपमा नाप्ने भारतले गरेको अफर नेपालले अस्वीकार गरेको छ ।
वि.सं २०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईमा घटबढ भएको भन्दै यसको पुनः मापन गर्ने नेपाल सरकारले तयारी गरेको छ ।
यसैबीच, भारतले यसको संयुक्त रुपमा मापन गर्ने अफर नेपाललाई गरेको थियो । तर, नेपालको नापी विभागले भारतको उक्त प्रस्तावलाई अस्वीकार गरेको पिटिआइले जनाएको छ ।
नापी विभागका महानिर्देशक गणेश भट्टले यसका लागि चाहिने आवश्यक तथ्यांकका लागि भने भारत र चीनसँग सहयोग लिने पिटिआईलाई जानकारी दिएका छन् ।
भूकम्पपछि वैज्ञानिकहरुले सगरमाथाको उचाई घटेको दाबी गरेका छन् ।
सन् १९९९ मा नेसनल जियोग्राफिक सोसाइटी र बोस्टन म्युजियमले स्याटेलाइटबाट मापन गरेको ८,८५० मिटरको उचाई हाल धेरैले प्रयोग गर्दै आएका छन् । सन् २००५ मा चिनियाँ पर्वतारोहीले यसको उचाईं ८,८४४।३ मिटर भएको बताएका थिए ।
यता, हिन्दुस्तान टाइम्सले भने नेपालले भारतको प्रस्ताव अस्वीकार गर्नुको पछाडि चीनको हात हुनसक्ने नयाँ दिल्लीले आशंका व्यक्त गरेको उल्लेख गरेको छ ।
नेपाल चीन सीमामा रहेको कारण चीनले नेपालले भारतको प्रस्ताव अस्वीकार गर्न दबाब दिएको हुनसक्ने समाचारमा उल्लेख छ ।

सर्भे अफ इन्डियाले नेपालसँग संयुक्त रुपमा सगरमाथाको उचाई पुनः मापन गर्ने प्रस्ताव गरेको थियो ।
सर्भेयर जेनरल अफ इन्डिया मेजर जेनेरल गिरिस कुमारले नेपालले भारत वा चीन कसैलाई पनि यसमा संलग्न नगराएर आफै गर्ने तयारी गरेको बताए ।
उनले यस विषयमा काठमाडौँमा चीनसहित अन्य देशहरुका सर्भेयर र वैज्ञानिक सम्मिलत बैठक पनि आयोजना गरिएको पनि जानकारी दिए ।

यता, भारतले अफर गरिरहँदा चीनले भने नेपालसामु कुनै त्यस्तो प्रस्ताव अघि सारेको छैन ।


 

प्रतिक्रिया दिनुहोस