गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोटका किसानहरू आलु खेतीतर्फ आकर्षित भएका छन् । पहिले परम्परागत खेती गरिरहेका किसानहरू पछिल्लो केही वर्षयता सामूहिक रूपमा व्यावसायिक आलु खेती गर्न थालेका छन् ।
चन्द्रकोटको वडा नम्बर–१ को दिब्रुङ्ग लुग्दीमा ‘उद्यमशील कृषक समूह’ बनाएर ३४ जना किसानले मिलेर आलु खेती गर्दै आएको समूहका अध्यक्ष घनश्याम खरेलले बताए ।
गाउँपालिकाले आलु पकेट विकास कार्यक्रम सञ्चालन गरेर परम्परागत रूपमा आलु खेती गर्दै आएका किसानहरूलाई व्यावसायिक आलु उत्पादनमा प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र बनाएर समूहमा आलु उत्पादन गर्दा सहज हुने गरेको कृषक यदुलाल पौडेलले जानकारी दिए । उनले भने, ‘आम्दानीसमेत ठीकै भएकाले विदेश जानुपर्ने बाध्यता अहिलेसम्म आएको छैन ।’
चन्द्रकोटलाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले पकेट क्षेत्र बनाएर अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताए । उनले भने, ‘यहाँको हावापानी आलुका लागि उपयुक्त छ । सिंचाइको पनि सुविधा भएकाले व्यावसायिक रूपमा आलु उत्पादन गरी आत्मनिर्भर बन्न सक्ने बलियो सम्भावना देखेका छौं ।’
उनका अनुसार आलु पकेट क्षेत्रका रूपमा विकास गरी आयआर्जनको माध्यम बलियो बनाएर किसानलाई स्वरोजगार बनाउने गाउँपालिकाको योजना छ । यहाँ उत्पादन भएको आलु गुल्मीका विभिन्न ठाउँसँगै पाल्पा, बुटवल लगायतमा बिक्री हुने गरेको छ । चन्द्रकोटमा १५० रोपनी क्षेत्रफलमा आलु उत्पादन हुँदै आएको छ ।
गत वर्ष चन्द्रकोटका किसानले ४० लाखको आलु बिक्री गरेका थिए । यो वर्ष त्योभन्दा बढीको आलु उत्पादन हुने अनुमान गरिएको छ ।
आलु पकेट विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० र २०८०/०८१ मा गाउँपालिका र समूहको गरेर ३१ लाख ६८ हजार रुपैयाँ लगानी भएको छ । जसमा समूहको १३ लाख ६८ हजार र कार्यक्रम विकासका लागि गाउँपालिकाको १८ लाख लगानी परेको छ ।
आलुसँगै चन्द्रकोटमा किसानहरूले लसुन खेती पनि गर्दै आएका छन् । किसानले फागुन र असोजमा दुई पटक आलु लगाउने गर्दछन् । तर भण्डारण गर्ने ठाउँको अभावले उत्पादित आलु एकै पटक बिक्री गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३० बैशाख २०८१, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन
एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु
चापाकोटमा चार सय रोपनीमा सामूहिक आलु खेती