संवादमार्फत संसद्को अवरोध हटाउनुपर्छ : सुहाङ नेम्वाङ

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १२ : ०९
संवादमार्फत संसद्को अवरोध हटाउनुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौँ । नव निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले संसद्‌मा नीति निर्माणलाई प्राथमिकता राखेर गर्न सक्ने कामहरू गर्न प्रयत्न गर्ने बताएका छन् । बुधबार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संसद् भनेकै नीति निर्माण गर्ने थलो भएकाले आफूले पनि संसद्मा त्यसकै लागि भूमिका खेल्ने बताए ।

उनले नेपालमा धेरै कानुनहरू बनेको तथा विकास निर्माणका कामहरू समेत भएको भन्दै ती कामहरू अझै पूर्ण नभएकाले त्यसलाई पूर्णता दिनतर्फ लाग्नुपर्ने पनि बताए ।

‘हामी सबैले एक अर्कोमा सहकार्य गरेर, समन्वयकारी भूमिका खेलेर कसरी पूर्णता दिन सकिन्छ र कानुनहरू बनाउन सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ’, नेम्वाङको भनाइ छ ।त्यस काममा आफ्नो बुवाले देखाएको इमान र निष्ठाकासाथ ती कामहरूलाई पूर्णता दिने गरेर आफू अघि बढ्ने उनको दाबी छ ।

साथै उनले इलामको विकास निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको बताए । ‘इलामको सवालमा मेरा तीनवटा प्राथमिकता छन् । ‘इलामका समस्या समाधानका लागि उठाउने, कृषि, शिक्षा,पर्यटनका लागि नीति निर्माण नभएको हुनसक्छ । यो कुरालाई समाएर हिँड्छु’, सुहाङको भनाइ छ ।

उनले संसद्को गतिरोध अन्त्य गर्न संवाद नै उपयुक्त भएकाले त्यसमार्फत सहमति गरेर संसद्लाई राम्रोसँग चल्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।  

प्रतिक्रिया दिनुहोस