अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा

एजेन्सी

सोमबार, २४ बैशाख २०८१, १३ : ३७
अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा

तेल अभिभ । इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलस्थित अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको इजरायलका सञ्चार मन्त्रीले बताएका छन् । 

एक्समा सञ्चार मन्त्रीले एक भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा प्रहरी अधिकारीहरू अल जजिरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अल जजिरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो । अल जजिरा टिभी नेटवर्कले इजरायली सरकारको राष्ट्रिय सुरक्षा खतराको दाबीलाई झूटो भनेको छ । अल–जजिरा टिभी नेटवर्कको टोलीले कानुनी जवाफको तयारी गरिरहेको पनि बताइएको छ ।

इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् । इजरायलको नागरिक अधिकारवादी संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ । इजरायली सरकारको प्रतिबन्ध प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस