म कुनै गुटमा छैन्, उपेन्द्र यादवतिरै छु: वन राज्यमन्त्री कार्की

सफल खबर संवाददाता

सोमबार, २४ बैशाख २०८१, १२ : ४२
म कुनै गुटमा छैन्, उपेन्द्र यादवतिरै छु: वन राज्यमन्त्री कार्की

काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू जसपामा नगएको प्रष्ट पारेका छन् ।

आइतबार जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा जसपा गठन हुँदा आफ्नो नाम समावेश गरेको भन्दै कार्कीले आपत्रि जनाएका छन् । कार्कीको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै आफू उपेन्द्र यादवसँगै रहेको र कुनै पनि गुटमा नलागेको प्रष्ट पारेका छन् ।

‘सञ्चार माध्यममा आइरहेका समाचारहरुबाट अत्यन्त भ्रामक जानकारी सम्प्रेशन भइरहेकोप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ’, प्रमुख स्वकीय सचिव रामनारायण कापडीले भनेका छन्, ‘उहाँ जनता समाजवादी पार्टी नेपाल संस्थापन पक्षमा यथावत रहिरनुभएको र अन्यत्र भनेझैं कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’

प्रतिनिधिसभामा १२ सिट रहेको जसपामा अशोक राई समूहमा प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु ठाकुर, हसिना खातुन, वीरेन्द्र महतो र नवकिशोशार शाह सुडी छन् । उपेन्द्रको पक्षमा राजकिशोर यादव, प्रकाश अधिकारी, रञ्जुकुमारी झा र रेखा यादव रहेका छन् । अर्थात् उपेन्द्र समूहमा ५ जना मात्र हुँदा राई पक्षमा ७ सांसद लागेका छन् ।

प्रतिक्रिया दिनुहोस