प्रधानमन्त्रीले बोली फेरे, अरिङ्गाल होइन, मौरी बन्न निर्देशन

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०७५, १२ : ५१
प्रधानमन्त्रीले बोली फेरे, अरिङ्गाल होइन, मौरी बन्न निर्देशन

काठमाडौँ । सरकारविरुद्ध अभिव्यक्ति दिनेलाई अरिङ्गाल बनेर आक्रमणमा उत्रिन निर्देशन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेका छन् । उनले कार्यकर्तालाई मौरी बन्न निर्देशन दिएका छन् । 
सहाना प्रधानको चौथो स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा उनले कार्यकर्तालाई मौरी झै बनेर परिश्रमी हुन निर्देशन दिएका हुन् । पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा भएको कार्यक्रममा उनले मौरी बनेर मिहिनेतमा लाग्न आग्रह गरेका थिए । केही दिनअघि प्रधानमन्त्रीले अरिङ्गाल बन्न निर्देशन दिएका थिए । त्यसको कडा आलोचना भएको थियो । 
प्रधानमन्त्री ओलीले कर्मी मौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए । ‘कर्मी मौरी झैं एकजुट भएर काममा लाग्नुहोस,’ ओलीले भने, ’सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सुझाए । 
 साहनालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।’ उहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो,’ प्रधानमन्त्री ओलीले भने’ ‘२०४६ सालको जनआन्दोलनमा उनको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनर्बहाली गर्न सजिलो भएको हो ।’
कार्यक्रममा अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक, सामाजिक र पारिवारिक प्रतिकूलताका बीच पनि आफूलाई समाजवाद र समृद्धिका लागि सतिसालजस्तै प्रस्तुत गर्नु नेत्री साहनाको साहसी कदम भएको बताए । उनले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको जनाए ।  नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको बताए ।  नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताए ।  विसं २०४६ को जनआन्न्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गरेकी थिइन् । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस