एचएसबीसीका प्रमुख कार्यकारीले दिए राजीनामा

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १५ : १७
एचएसबीसीका प्रमुख कार्यकारीले दिए राजीनामा

लन्डन । बेलायती बहुराष्ट्रिय बैङ्किङ समूह एचएसबीसीका प्रमुख कार्यकारी नोएल कुइनले राजीनामा दिएका छन् । कुइनले पाँच वर्षदेखि बैङ्किङ समूहको प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए । समूह ६२ वर्षीय कुइनको उत्तराधिकारी खोजिरहेको छ । नयाँ प्रमुख कार्यकारी नियुक्त नहुँदासम्म भने कुइन उक्त पदमा आसीन रहनेछन् ।

एचएसबीसीले कम्पनी भित्र र बाहिर दुबैतिर सम्भावित उम्मेदवार खोजिरहेको बताइएको छ । गएको वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा एचएसबीसीको मुनाफा १ दशमलव ८ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएकै समयमा कुइनको राजीनामा आएको हो । जनवरी–मार्च त्रैमासमा कम्पनीको कर पूर्वको मुनाफा १२ दशमलव ७ प्रतिशत थियो ।

यो बजार विश्लेषकहरूले गरेको अनुमानभन्दा चाहिँ केही राम्रो हो । कुइन विगत ३७ वर्षदेखि एचएसबीसीमा काम गरिरहेका छन् । तत्कालीन सीईओ जोन फ्लिन्ट बाहिरिएपछि आन्तरिक रूपमा उनलाई सन् २०१९ मा बैंकको सीईओ बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस