भरतपुरमा पशु बधशालाको लागि उचित ठाउँको खोजी गरिरहेका छाैँ : दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०७५, २० : १९
भरतपुरमा पशु बधशालाको लागि उचित ठाउँको खोजी गरिरहेका छाैँ : दाहाल

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र पशु बधशालाको अभाव महसुस गरी त्यसका लागि बजेटको व्यवस्था गर्दै बधशाला निर्माणका लागि जग्गाको खोजी गर्ने भएको छ ।
भरतपुर महानगरपालिका  र हेफर इन्टरनेसनल नेपालद्वारा भरतपुरमा शुक्रबार आयोजित पशु बधशाला स्थापना तथा संचालन बिषयक अभिमुखीकरण गोष्ठीमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले पशु बधशालाको लागि उचित ठाउँको खोजी भइरहेको जानकारी गराउनु भएको हो । गोष्ठीको अध्यक्षता गर्नु भएकी दाहालले भरतपुर महानगरपालिकामा पशु बधशाला अपरिहार्य भएको भन्दै यसका लागि भरतपुर महानगरपालिकाले उपयुक्त स्थानको खोजी र आवश्यक बजेटको ब्यवस्था गर्ने बताउनु भयो । 
महानगर प्रमुख दाहालले सुरक्षित र स्वस्थकर मासु सुरक्षित र व्यवस्थित बधशालाबाट मात्र प्राप्त गर्न सकिने बताउँदै यसको ब्यवस्थापनमा भरतपुर महानगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । महानगरले संघ, प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक र ब्यवस्थित बधशाला निर्माणको काम अगाडि बढाउने उहाँले बताउनु भयो । महानगर प्रमुख दाहालले आफू पवित्र उद्देश्यकासाथ भरतपुर महानगरपालिकाको तिब्र बिकास गर्ने अठोटका साथ अगाडि बढिरहेको तर बिभिन्न राजनितिक आग्रह र पूर्बाग्रहका कारण यो वा त्यो नाममा बिरोध भैरहेकोप्रति दुःख ब्यक्त गर्नुभयो ।
प्रमुख दाहालले सिटी हल  महानगरबासीको गौरवको आयोजना भएको बताउँदै यसमा बिरोध हुनु गलत भएको बताउनु भयो ।हामीले पहिला कृष्णपुरस्थित बीपी कोइराला मेमोरियल  क्यान्सर अस्पताल परिसरमा रहेको ५ बिघा जग्गामा बनाउने निर्णय गर्यौँ । त्यहॉ विरोध भयो, पुनः भरतपुरस्थित गेष्ट हाउस चौरमा निर्णय गर्यौं । यहॉ पनि केही समुहहरू बिरोध गर्दैछन् । के यसरी ठूला पूर्बाधार निर्माण हुन सक्छन् ? त्यहॉ के कारणले हुदैन ? भन्दै उहाँले बिरोध गर्नेहरूलाई उपयुक्त विकल्प दिन समेत चेतावनी दिनुभयो ।
महानगर प्रमुख दाहालले यस्ता विकास बिरोधी गतिबिधीहरूप्रति सचेततापूर्बक खबरदारी गर्न भरतपुर महानगरबासीसंग आग्रह गर्नुभयो । प्रमुख दाहालले क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने बताउनु भयो । जग्गा प्राप्तिका लागि केहि प्राविधिक पक्ष मिलाएपछि यो विषय छिट्टै टुंगिने बताउनु भयो । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, रनपाका प्रमुख नारायण वन, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद  सुबेदी, हेफर इन्टरनेसनल नेपालका निर्देशक तिर्थ रेग्मी लगायतले उपयुक्त स्थानमा बधशाला निर्माण गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस