काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालयन हाइड्रो एक्स्पो-२०२४ को उद्घाटन गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले भृकुटीमण्डपमा आयोजित समारोहमा एक्स्पोको उद्घाटन गरेका हुन् ।
एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्त्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैका लागि गौरव र खुसीको विषय भएको बताए ।
नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् छिमेकी भारतमा बिक्रीका लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी हुने विश्वास व्यक्त गरे ।‘सरकारको सहजीकरण र समन्वय तथा निजी क्षेत्रको संलग्नताबाट विद्युत् उत्पादनका लागि राखिएका लक्ष्य हासिल हुन सम्भव छ,’ उनले भने ।
एक्स्पोले ऊर्जा विकासमा सहभागी सबै पक्षलाई एकै ठाउँमा ल्याएर हातेमालो गर्न सहयोग पुग्ने बताए । राष्ट्रपतिले हरित ऊर्जा विकासमा स्वदेशी र विदेशी सबै लगानीकर्ता एकजुट भएर अघि बढ्न आह्वान गरे ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् विकासको प्रचुर सम्भावना रहेको नेपालको उन्नतिको महत्त्वपूर्ण आधार रहेको बताए ।‘आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना सरकारले ल्याएको र यो महत्त्वाकाङ्क्षीजस्तो देखिए पनि यथार्थ र आवश्यकतामा आधारित भएर गरिएको हो,’ उनले भने ।
लगानीका लागि देशभित्रको स्रोतमात्र होइन, वैदेशिक लगानी ल्याउनुपर्ने आवश्यकता रहेको बताए । अहिले संसदमा दर्ता भइ दफाबार छलफलमा रहेको विद्युत् विद्येयक चाँडोभन्दा चाँडो पारित भइ कार्यान्वयनमा आउने उल्लेख गरे ।
जलविद्युत् परियोजना विकासका लागि नयाँ विद्युत् ऐनले सहजीकरण गर्ने र लगानी अझ बढेर जाने उनको विश्वास थियो ।‘परियोजनाका लागि जग्गा प्राप्ति, वन र अन्य प्रक्रियागत विषयमा पनि सरकारले अझ सहजीकरण गर्दै जानेछ,’ मन्त्री बस्नेतले भने ।
अहिले जलविद्युत् परियोजना निर्माणसँगै वातावरण र जलवायुको मुद्दासमेत पेचिलो बन्दै गएको छ । यसबारेमा पर्याप्त छलफल हुनुपर्ने र भइरहेको उनको भनाइ छ । एक्स्पोले आसन्न लगानी सम्मेलनको लागिसमेत टेवा पुग्ने उनले बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी भइसकेको बताए ।‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलिरहेको र दक्ष, अर्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन्,’ उनले भने ।
उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे ।सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि वन, जग्गालगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
एक्स्पोले आसन्न लगानी सम्मेलनका लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्नका लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान उनले सरकारसँग आग्रह गरे ।
जलविद्युत् परियोजना विकाससँग स्थानीय विकासमा महत्त्वपूर्ण सहयोग पुगिरहेको छ । आयोजाना प्रवर्द्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्याएको बताए ।
नेपालका लागि क्यानाडाका राजदूत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिका लागि जलविद्युतको विकास महत्त्वपूर्ण रहेको उल्लेख गरे ।‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराको साथ सुरु भएको एक्स्पो शुक्रबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस
दक्षिण कोरियामा राष्ट्रपतिले घोषणा गरेको सैन्य कानूनको विपक्षमा सदनमा बहुमत
चार देशका नवनियुक्त राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ