टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै

सफल खबर संवाददाता

विहीबार, १३ बैशाख २०८१, ११ : १२
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जनाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई वैशाख १० गतेपनि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आज पनि सो निवेदनमा सुनुवाइ गर्न लागिएको हो ।

काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत पाटनमा पुनरावेदन गरेका उनीहरूलाई सो अदालतले पनि पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । सो प्रकरणमा जोडिएका टोपबहादुर रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारी सर्वोच्च पुगेका थिए ।

अभियुक्त आङ्टावा शेर्पाले गत माघ १४ मा बन्दिप्रत्यक्षीकरण रिट दायर गरेपछि बाँकी नौजना अभियुक्तले क्रमशः बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए । गत फागुन ९ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको मुद्दा त्यसपछि लगातार तीनपटक हेर्न नमिल्नेमा परेका थियो । पाँचौँ पेसीमा न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कागजात झिकाउने आदेश गरेको थियो । १३औँ पेसी चैत २५ पछि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले हेर्दाहेर्दैमा राखेको हो ।

 

प्रतिक्रिया दिनुहोस