अहिल्यै पार्टी एकीकरण हुँदैन : केपी ओली

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, १५ : ४६
अहिल्यै पार्टी एकीकरण हुँदैन : केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरू एकताको बिन्दुमा पुग्न सकिने बताएका छन्। सोमबार नेकपा स्थापनाको ७५औँ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ता सहकार्यको माध्यमबाट एकताको बाटोमा पुग्न सकिने बताए।

अहिल्यै मिल्न थाल्यौँ भने किन फुट्या भनेर प्रश्न उठ्छ। अहिले सहमति र सहकार्य गरेर जाऔँ। सहकार्यको माध्यमबाट निकट हुँदै क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौँ, ‘उनले भने।

उनले अहिल्यै पार्टी एकीकरण गरिहाल्छौँ वा भइहाल्छ भन्ने मनसायमा नहिँड्न आग्रहसमेत गरे। उनले वामपन्थीहरूमात्र नभएर देशभक्ति शक्तिहरू मिलेर जाने समय भएको बताए।

‘वामपन्थीहरू मिलेर अगाडि बढ्ने अवस्था मात्र होइन, देशभक्ति शक्तिहरू मिलेर जाने समय हो। जो देशको स्वाधीनता र स्वतन्ताको पक्षमा वकालत गर्छ। भ्रष्टाचारविरुद्ध लाग्छ। जनताको आकाङ्क्षा पूरा गर्न लाग्छ। हो ती शक्तिहरू मिलेर जानुपर्छ, ‘उनले भने।

उनले अहिलेको सरकारले जनताको समस्या समाधान गर्ने बताउँदै सत्ता साझेदार दललाई गरिबीको अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गरे। ‘अहिलेको समीकरण देशमा विकासको अभियान चलाउने र जनताका समस्या समाधान गर्ने हो। सरकारमा हुने दलहरूको प्रमुख कार्य गरिबीको अन्त्य गर्ने हुनुपर्छ। पोलिटिक्सलाई प्रचारबाजीमात्र होइन, उपलब्धि हासिल गर्ने कुरामा पनि केन्द्रित गर्नुपर्छ, ‘उनले भने।