छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल

सफल खबर संवाददाता

सोमबार, १० कार्तिक २०८२, ०८ : २४
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्व २०८२ को अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र हो, संविधानले नै विविध जाति, धर्म, संस्कृति र समुदायलाई समान अधिकार दिएको छ, विभिन्न जाति, धर्म र समुदायका मौलिक संस्कृति अनुसारका चाडपर्वहरूले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन् ।’ विविधताभित्रको एकता नै नेपाली हुनुको पहिचान भएको उनको भनाइ छ ।

सूर्यको उपासना गरी मनाइने छठ पर्व प्रकृति र मानव जीवनबिचको सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई नदी वा जलाशयको छेउमा रातभर व्रत बसेर बिहानपख उदाउँदो सूर्यलाई अर्घ्य दिनु छठ पर्वको मुख्य विशेषता हो । मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान दर्साउने गरेको पाइन्छ ।

उनले भनेका छन्, “परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससाथ मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस