भारतले नेपाललाई दियो ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १४ : २८
भारतले नेपाललाई दियो ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस

काठमाडौं। भारत सरकारले नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरेको छ ।​काठमाडौंस्थित भारतीय राजदूतावासले आज एक कार्यक्रमको आयोजना गरी नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूलाई एम्बुलेन्स र बस प्रदान गरेको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स र बसको चाबी हस्तान्तरण गरेका हुन् ।सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवं गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

 

उपहारस्वरूप आज हस्तान्तरण गरिएका कुल १०१ सवारी साधन मध्ये दुई वटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

 

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा एम्बुलेन्स र स्कूल बस प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धीका परियोजनाको सराहना गरे । दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने उनको भनाइ थियो ।

यस्तै, नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले ​नेपाल–भारत विकास साझेदारी कार्यक्रम थप प्रभावकारी बनाउने बताए । यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको उनको भनाइ थियो ।

 

सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ ।

यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस