विपन्न परिवारलाई महिनामा पाँच किलो नुन

रासस

शुक्रबार, ३० चैत्र २०८०, १३ : २५
विपन्न परिवारलाई महिनामा पाँच किलो नुन

काँक्रेविहार (सुर्खेत) । मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई प्रत्येक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क रुपमा दिने भएको छ । 

गरिबसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत यहाँका चार हजारभन्दा बढी विपन्न परिवारलाई वडा कार्यालयमार्फत प्रत्येकमहिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए । 

नुन किन्न सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति अवलम्बन गरेको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुने भएको छ । 

नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदायहरू गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या सधैँका लागि समाधान हुने छ ।

नगरपालिकाभित्र बाँझो जमिनलाई खेती गर्न नगरपालिकाले विशेष नीति ल्याएको छ । अन्नमा परनिर्भरता अन्त्य गरी खेतीयोग्य जमिन उत्पादनमूलक बनाउन विशेष योजना बनाएको नगरप्रमुख भामले बताए। सिमीलगायतका दालजन्य बाली जिल्ला बाहिर निकासीका काम भइरहेको उनले बताए । 

‘हामीले आफैलाई गरिब सोचेर समस्या भयो’, नगरप्रमुख भामले भने’कृषकको उत्पादन र मासुजन्य वस्तु बजारीकरण गर्न हाटबजारको व्यवस्था गरेका छौँ । वधशाला सञ्चालन गर्न नगरपालिकाले पहल गरेको छ ।’

कृषकलाई बीउ वितरण र कृषि प्राविधिक गाउँ पठाएर नगरपालिकाले कृषिजन्य वस्तु उत्पादनमा जोड दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस