भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने

सफल खबर संवाददाता

विहीबार, २९ चैत्र २०८०, १५ : १९
भन्सार महसुल छुटका सवारी साधन २० वर्षसम्म बिक्री गर्न नपाइने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बिक्री र नामसारी गर्न नदिने प्रस्ताव गरेकी छन् ।

भन्सार सम्बन्धी ऐन संशोधन विधेयकमा उनले यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेकी हुन् । भन्सार महसुल छुटमा आयात भएको सवारी साधन कसैले २० वर्ष अगावै बिक्री, नामसारी र हक हस्तान्तरण गरे पूरै महसुल तिर्नुपर्ने व्यवस्था राख्नुपर्ने उनको प्रस्ताव छ ।

सांसद गौतमले राखेको संशोधन प्रस्तावमा भनिएको छ, ‘‘ भन्सार छुटमा पैठारी गरिएका बस तथा ढुवानीका साधन २० वर्ष नपुगी नामसारी, बिक्री वा कुनै प्रकारले हक हस्तान्तरण गरेमा प्रचलित कानुन बमोजिम पूरै महसुल लाग्नेछ ।’

प्रस्तावित विधेयकको दफा २४ मा विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई सुविधा दिइने सम्बन्धी व्यवस्था छ । जहाँ उद्योगलाई समेत एक पटकका लागि सीमित सवारी साधनमा भन्सार महसुलमा छुट दिइने व्यवस्था प्रस्तावित छ ।

यसरी छुटमा ल्याएको सवारी साधन १० वर्षसम्म नामसारी, बिक्री वा कुनै प्रकारले हक हस्तान्तरण गर्न नपाइने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस