इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १४ : ०९
इलाम-२ मा उम्मेदवारी दर्ता जारी, रास्वपाले ३ बजे मनोनयन दर्ता गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनका लागि ३ बजेपछि मात्र उम्मेदवारी मनोनयन दर्ता गर्ने भएको छ । रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल इलाम आइपुग्न ढिलो भएकाले ३ बजेमात्र उम्मेदवारी दर्ता गर्ने तालिका बनाएको रास्वपाले जनाएको छ ।

इलाम-२ मा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्दैछन् । उम्मेदवारी दर्ताका लागि रास्वपाका कार्यकर्ता सम्पर्क कार्यालयमा भेला भएका छन् । उपसभापति अर्याल इलाम-२ बजेपछि मात्र इलाम आइपुग्ने भएकाले ३ बजेपछि मात्र उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गराएका छन् । साथै, यसअघि चर्चामै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि मनोनयन दर्ता गरेको छ । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका छन् ।  यस्तै, डाकप्रसाद गौतमले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । नेकपा एमाले र नेपाली काँग्रेसले साढे दुई बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ । एमालेबाट सुहाङ नेम्बाङ र काँग्रेसका डम्बर खड्काले उम्मेदवारी दर्ता गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस