राहदानी बनाउन पोर्चुगलबाट ६ सय ६९ को आवेदन

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, ०७ : ४३
राहदानी बनाउन पोर्चुगलबाट ६ सय ६९ को आवेदन

काठमाडौ । पोचुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय भन्दा बढी नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ ।

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा लिस्बनबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो ।

टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिइन् ।

टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन सङ्कलन गरिएको हो ।

राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट एक लाख १६ हजार पाँच सय २० युरो अर्थात् झण्डै एक करोड ६६ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको टोली प्रमुख बस्नेतले बताइन् ।

घुम्ती शिविरले तत्कालका लागि राहत भए पनि अझै धेरै नेपाली राहदानीसम्बन्धी समस्यामा रहेकाले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस