देउवा दम्पतीले बिदामा पाएको राहदानीबारे यस्तो छ भ्रम र यर्थाथ

के देउवा दम्पती उपचारका नाममा विदेश भाग्न लागेका हुन् ?

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०८२, ०८ : ४८
देउवा दम्पतीले बिदामा पाएको राहदानीबारे यस्तो छ भ्रम र यर्थाथ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा दम्पती (डा. आरजु राणा देउवासहित) जेन जी आन्दोलनका क्रममा निर्घात कुटिए । बुढानिलकण्ठको उनको निवास जल्यो । घरबाट जलेका पैसाहरुको खातका खात नै फेला पर्यो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत हप्ता देउवाको निवासको निरीक्षण मात्र गरेन, भदौं २४ मा आगजनी हुँदा जलेका विभिन्न मुद्रा नोटहरूको प्रमाण संकलन ग¥यो । अझै पनि उपचारका क्रममा नै रहेका देउवा दम्पतीले सार्वजनिक विदाका दिन अर्थात असोज ३ (संविधान दिवस)मा कुटनीतिक राहदानी लिएको र उनीहरु उपचारको बहानामा विदेश भाग्ने तयारीमा रहेको समाचार पनि सार्वजनिक भए ।

सार्वजनिक विदाका दिन देउवा दम्पतीले कसरी कुटनीतिक राहदानी प्राप्त गरे ? अनि के देउवा दम्पती उपचारका नाममा विदेश भाग्न लागेका हुन् ? अहिले प्रश्न उठिरहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, देउवा दम्पतीले असोज ३ को सार्वजनिक विदाकै दिनमा राहदानी प्राप्त गरेको देखिएको छ । ‘देउवा दम्पतीले असोज ३ मा नै छापिएको कुटनीतिक राहदानी प्राप्त गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीले भने, ‘शेरबहादुर पूर्व प्रधानमन्त्री र उनकी श्रीमती निर्वतमान विदेशमन्त्री भएकाले उहाँहरु दुवै कूटनीतिक राहदानीका लागि योग्य छन् । त्यही आधारमा उहाँहरुले राहदानी पाउनु भएको हो ।’

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले पनि देउवा दम्पतीले राहदानी प्राप्त गरेको कुराको पुष्टि गरेका छन् । ‘हो, उहाँहरूले राहदानी प्राप्त गर्नुभएको छ । तर यो नेपाली नागरिकहरूको व्यक्तिगत विवरणसँग सम्बन्धित भएकोले, हामी धेरै कुरा भन्न चाहँदैनौं,’ राहदानी विभागका महानिर्देशक अर्यालले भने, ‘सम्बन्धित नागरिकहरूको परिवारका सदस्यहरूलाई पनि यस्तो जानकारी खुलासा गर्न मिल्दैन । यो गोपनियताको विषय भएकोले हामीले धेरै बोल्न मिल्दैन ।’

देउवा दम्पती अहिले पनि उपचारकै क्रममा छन् । उच्चपदस्थहरुको राहदानीका लागि आवश्यक परे मन्त्रालयले फोटो खिच्न र बायोमेट्रिक्स गर्न निवासमै मोवाइल किटहरु पठाउने गर्दछ । त्यही आधारमा मन्त्रालयले असोज ३ मा नै देउवा दम्पती रहेको सैनिक ब्यारेकमै फोटो र बायोमेट्रिक्स गर्न मोवाइल किट पठाएको थियो । त्यसपछि त्यही दिन शेरवहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाको नाममा कुटनीतिक राहदानी जारी भएको थियो ।

‘हामी कहिलेकाहीं राष्ट्रपति, प्रधानमन्त्री र अन्य उच्चपदस्थ अधिकारीहरू जस्ता वरिष्ठ अधिकारीहरूको निवासमा मोबाइल किटहरू लिएर जान्छौं, जसले फोटो खिच्ने र अन्य बायोमेट्रिक्स जस्ता व्यक्तिगत सेवाहरू गर्न सक्छ । उहाँहरु (देउवा दम्पती)का हकमा पनि त्यही आधारमा उहाहरु रहेकै स्थानमा पुगेर फोटो खिच्ने र अन्य बायोमेट्रिक्स गर्ने काम गरेर राहदानी छापिएको हो,’ राहदानी विभागका एक कर्मचारीले भने ।

यतिसम्म त ठिकै छ, अव प्रश्न उठ्छ, सार्वजनिक विदा (संविधान दिवस)का दिन असोज ३ मै कसरी राहदानी देउवा दम्पतीले प्राप्त गरे ? यसबारेमा पनि मन्त्रालय र राहदानी विभागले औपचारिक रुपमा मुख खोलेको त छैन । तर राहदानी सेवा अत्यावश्यक सेवाभित्र पर्ने भएकोले सार्वजनिक विदाका दिनमा पनि केही काम हुने भएकाले त्यसदिन पनि राहदानी दिन सकिने अवस्था रहेको विभागले जनाएको छ ।

‘राहदानी सेवाहरू आवश्यक सेवा अन्तर्गत पर्ने भएकाले, हामी सार्वजनिक बिदाहरूमा सीमित सेवाहरू प्रदान गर्दछौं । त्यसैले असोज ३ मा संविधान दिवसको सार्वजनिक विदा भएपनि त्यसैदिन देउवा दम्पतीको फोटो र बायोमेट्रिक्स लिन उहाँहरु रहेको स्थानमै एक टोली पठाइएको थियो,’ राहदानी विभागका ती उच्चपदस्थ कर्मचारीले भने, ‘ उहाँहरु दुवै जना (शेरवहादुर र डा आरजु राणा) अस्पतालमा हेरचाह गरिरहेको हुनाले मानवीय आधारमा निर्णय गरिएको थियो । र, राहदानी पनि त्यही दिन छापिएको थियो ।’

राहदानी ऐन २०७६ को धारा ६ मा राहदानी विभागले सरकारी काम वा विशेष कामको क्रममा विदेश यात्रा गर्ने उच्च पदस्थ अधिकारीहरूलाई कूटनीतिक राहदानी जारी गर्ने ब्यवस्था छ । सम्बन्धित मन्त्री, संवैधानिक निकाय वा सचिवालयको निर्णय वा सिफारिसमा आधारमा त्यस्तो राहदानी जारी गर्ने ब्यवस्था छ ।  

हेर्नुहोस्, ऐनको धारा ६ को ब्यवस्था

त्यस्तै, राहदानी नियमावली २०७७ को धारा १० मा कूटनीतिक राहदानीको लागि को कस्ता ब्यक्ति योग्य हुन्छन् भन्ने विवरण दिन्छ । त्यस आधारमा पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्टमन्त्रीका हैसियतमा शेरवहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा दुवै जना कुटनीतिक राहदानी पाउन योग्य ब्यक्तिको सूचीभित्रै पर्छन् । त्यही आधारमा उनीहरुले उक्त राहदानी प्राप्त गरेका हुन् ।

हेर्नुहोस् कस्ता ब्यक्ति कुटनीतिक राहदानी प्राप्त गर्ने सूचीमा योग्य हुन्छन् भन्ने राहदानी नियमावलीको ब्यवस्था

अर्काेतिर, राहदानी प्राप्त गरेसँगै देउवा दम्पतीले थाइल्यान्डको भिसा लिईसकेको र भाग्ने तयारीमा रहेको आरोप समेत लागेको छ । के उनीहरु भाग्ने तयारीमा रहेको हो ? के उनीहरुले थाइल्यान्डको भिसा राहदानीमा लागेको हो ? यसबारेमा पनि अनेक तर्क छन् । तर खासमा उनीहरुलाई ९० दिनसम्म थाइल्यान्ड जानै चाहेपनि भीसा लगाईरहनु पदैन । कारण हो – नेपाल र थाइल्याण्डले जनवरी १९९९ मा कूटनीतिक र आधिकारीक राहदानी धारकहरूका लागि भिसा आवश्यकताहरू छुट दिने सम्झौतामा भएको हस्ताक्षर ।

परराष्ट्र मन्त्रालयका अनुसार, उक्त सम्झौताका आधारमा कुटनीतिक राहदानी वाहक दुई देशका मानिसहरूलाई एकअर्काको देशमा ९० दिनभन्दा बढी अवधिको लागि भिसा छुट दिइनेछ । यही प्रावधानका आधारमा देउवा दम्पतीले कुटनीतिक राहदानी प्राप्त गरेकाले थाइल्णन्डमा जानका लागि भीसा लगाईरहनु पर्नेछैन ।

‘नेपाल र थाइल्यान्डका बीचमा १९९९ मा भएको सम्झौता अनुसार, देउवा कूटनीतिक राहदानी धारक भएकाले थाइल्याण्ड उडान गर्न भिसा आवश्यक पर्दैन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उहाँहरु सहज रुपमा भिसा नभएपनी आउने जाने गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस