राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँछ : परराष्ट्रमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १३ : २१
राष्ट्रिय हितलाई केन्द्रमा राखेर सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउँछ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हितको रक्षा गर्दै सार्वभौम समानताको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरी विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्नेतर्फ परराष्ट्र नीति तथा कूटनीतिक सञ्चालन भइरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताको आधारमा राष्ट्रको सर्वोपरि हितलाई मान्यता राखी स्वतन्त्र परराष्ट्रनीति सञ्चालन गर्ने बताए।

उनले भने, ‘विगतमा भएको सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौता गर्न संविधानले मार्ग दिएको छ। संवैधानिक मर्मअनुसार राष्ट्रिय हितको रक्षा गर्दै जनताको समृद्धि र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा कायम गर्दै छिमेकी देशहरूसँग पारस्परिक सम्मान र लाभको आधारमा दुई पक्षीय सम्बन्ध सदृृढ गर्न सरकार सक्रिय छ।’

उनले सरकार छिमेकी, विकास साझेदार, श्रम गन्तव्य मुलुकलगायत विश्वको सबै मित्रराष्ट्रहरूसँगको सम्बन्ध थप मजबुत बनाउने समन्वय र सहकार्य गर्ने नीति रहेको बताए। उनले छिमेकी देशलाई उच्च प्राथमिकता दिने सरकारको कार्यनीति रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस