फिनल्याण्डमा १२ वर्षीय बालकले विद्यालयमा गोली चलाउँदा एकको मृत्यु, दुई जना गम्भीर

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १३ : १२
फिनल्याण्डमा १२ वर्षीय बालकले विद्यालयमा गोली चलाउँदा एकको मृत्यु, दुई जना गम्भीर

फिनल्याण्ड । फिनल्याण्डको एक विद्यालयमा एक बालकले गोली प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै थप दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमा १२ वर्षीय बालक रहेका छन् । घटनाका आरोपी पनि सोही विद्यालयमा अध्ययनरत १२ वर्षीय बालक नै रहेको प्रहरीको भनाई छ ।

गोली प्रहार गरेपछि ती बालक त्यहाँबाट पैदल भागेपनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । घटनास्थल फिनल्याण्डको राजधानी हेलसिन्कीभन्दा उत्तरमा रहेको छ । मंगलबार बिहान स्थानीय समयअनुसार बिहान ९ बजे भानटा सहरको भेरटोला विद्यालयमा गोली प्रहार भएको जानकारी प्रहरीलाई दिइएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको हतियार फेला पारेको छ । हतियार आरोपित बालकको आफन्तको नाममा दर्ता भएको पाइएको छ । आरोपित बालकविरुद्ध हत्या र हत्याको प्रयासको मुद्दा दर्ता गरिएको छ । यद्यपि उनले किन गोली प्रहार गरे भन्ने चाहिँ अहिलेसम्म खुल्न सकेको छैन । प्रधानमन्त्री पेटेरी ओर्पोले घटना स्तब्ध बनाउने खालको बताउँदै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

शिकार गर्ने परम्परा रहेका कारण फिनल्याण्ड विश्वकै सबैभन्दा बढी हतियारको लाइसेन्स दर भएको देशमध्येमा पर्दछ । यद्यपि त्यहाँ विद्यालयमा गोलीकाण्डको घटना भने बिरलै हुन्छन् । सन् २००७ मा १८ वर्षीय विद्यार्थीले टुसुलाको विद्यालयमा गोली चलाउँदा ८ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए ।

पछि उनले आत्महत्या गरेका थिए ।त्यस्तै, सन् २००८ मा २२ वर्षीय युवकले अर्को विद्यालयमा गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो । उनले पनि पछि आत्महत्या गरेका थिए । 

प्रतिक्रिया दिनुहोस