पर्यटक तान्न पार्क सिँगार्दै जलदेवी सामुदायिक वन

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, ०२ असोज २०७५, ११ : ४०
पर्यटक तान्न पार्क सिँगार्दै जलदेवी सामुदायिक वन

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर दुईमा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक पर्यटकलाई आकर्षित गर्न रमणीय पार्क बनाउँदै छ ।
वन समूहका अध्यक्ष केशवबहादुर थापाले पर्यटन विकासका लागि जलदेवी पार्कको निर्माण भइरहेको बताउनु भएको छ । उहाँले आन्तरिक पर्यटक वृद्धिका लागि पिकनिक स्पोट, रिल्याक्स सेन्टर, डुंगा सफारीका लागि पोखरी निर्माण भइरहेको बताउनु भयो । धार्मिक पर्यटक भित्र्याउनका लागि पार्कभित्र शिवलिङ्ग निर्माण भइरहेको छ । उक्त शिवलिङ्ग २८ फिटको हुने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
बाह्य पर्यटक आकर्षणका लागि साहसी गेम खेलाउने योजना रहेको छ । रुखबाट डोरी टाँगेर खेलिने साहसी गेम नेपालमा नै पहिलो पटक खेलाउन लागिएको छ । यसबाट बाह्य पर्यटकहरु सजिलै भित्रयाउन सकिने उहाँले बताउनु भयो ।

‘बालबच्चाको आकर्षण बढाउनका लागि अपाङ्गता भएका बच्चाहरु पनि आउन सक्ने गरी समावेशी बाल उद्यान बनाउन लागेका छौँ’ अध्यक्ष थापाले भन्नुभयो, ‘अहिले आन्तरिक पर्यटकहरु पिकनिकका लागि आइरहेका छन् । गत आर्थिक वर्ष २०७४/७५ मा आन्तरिक पर्यटकबाट ६ लाख रुपैयाँ आम्दानी गरिएको छ ।’ चालु आर्थिक वर्ष २०७५/७६ मा १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । पिकनिकका लागि आउने एउटा समूहसँग १५ सय रुपैयाँ शुल्क लिने गरिएको उहाँले बताउनु भयो । 

जलदेवी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष माधव देवकोटाले पोखरीको भित्तामा आकर्षक ढुंगा टाँसेर सुन्दर बनाउन लागिएको बताउनु भयो । पोखरीको पानीलाई सोलार मोटरले तानेर झरना बनाउने दीर्घकालीन सोच राखिएको उहाँले बताउनुभयो । उहाँले पर्यटकहरुलाई थप आकर्षण गर्न ट्रि हाउस (रखमाथि घर) बनाउन लागिएको बताउनुभयो । धरानमाबाहेक नेपालमा अरु कुनै ठाउँमा नभएका कारण ‘ट्रि हाउस’ले बाह्य पर्यटकलाई अकर्षण गर्न सक्ने उहाँको भनाइ थियो । 

मर्निङ्गवाक गर्नका लागि जङ्गलभित्र ट्रयाक बनाउन लागिएको छ । ‘राजमार्गमा मर्निङ्गवाक गर्दा असुरक्षित हुने हँदा मर्निङ्गवाक गर्नेहरु जङ्गलभित्र आउनेमा आशावादी छौँ,’ उपाध्यक्ष देवकोटाले भन्नुभयो । जैविक विविधता र वनसम्वन्धि अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी जलदेवी पार्कदेखि सतञ्चुलीको डाँडासम्म ‘फुट ट्रयाक’ (गोरेटो) बनाउने योजना रहेको र यसबाट सामुदायिक वनलाई शैक्षिक पर्यटकहरुको गन्तव्य पनि बनाउन सकिने उहाँले बताउनुभयो । त्यस्तै पार्कभित्र कुँवर समाजको सहयोगमा बलभद्र कुँवरको सालिक निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो  ।

अन्य सामुदायिक वनभन्दा फरक तरिकाले आफूहरु जान खोजेको बताउँदै उपाध्यक्ष देवकोटाले भन्नुभयो, ‘सबै परियोजनाहरु पञ्चवर्षीय हुन् तर बजेट अभावका कारण पाँच वर्षभित्र पूरा गर्न सकिने अवस्था छैन ।’ केही योजनाहरुलाई दीर्घकालीन योजनाका रुपमा राखिएको उपाध्यक्ष देवाकोटाले बताउनु भयो । वातावरण र पर्यावरणलाई कुनै असर नपर्ने गरी पूर्वाधारहरु निर्माण गरिने उहाँको भनाई थियो ।

वि.सं. २०५७ सालमा स्थापित भरतपुर महानगरपालिका २ आँपटारीमा रहेको जलदेवी सामुदायिक उपभोक्ता समूहले उपभोक्ताहरुलाई सहुलियत दरमा काठ दाउरा उपलब्ध गराउँदै आएको छ । समुूहले निम्न आयस्तर भएका २८ जना विद्यार्थीलाई विद्यालय पठाउने गरेको छ । भानु मावि, बालकुमारी मावि र सिद्धिविनायक माविमा ती विद्यार्थीहरुले निःशुल्क अध्ययन गरिरहेका छन् । 
सामुदायिक वनको कुल ४ सय १९ हेक्टर क्षेत्रफलमध्ये १ सय ९९ हेक्टर वन हस्तान्तरित र बाँकी संरक्षित वनको रुपमा रहेको छ । हस्तान्तरित वनको क्षेत्रफलमध्ये ४.९ हेक्टर क्षेत्रफलमा पार्क तथा पिकनिक स्पोट निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस