पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि नयाँ जाेखिम उठाएँ : प्रधानमन्त्री प्रचण्ड

समाजवादी मोर्चाको सभामा प्रधानमन्त्री

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १६ : ५०
पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि नयाँ जाेखिम उठाएँ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि नयाँ समीकरण बनाउने खोजिम उठाएको बताएका छन् । प्रधानमन्त्री पद सुरक्षित गर्न भन्दापनि समाजवादको आधार तयार गर्ने इमान्दार प्रयासस्वरुप गठबन्धन फेरेको उनले बताए ।

समाजवादी मोर्चाले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणबाट एउटा तप्का विछिप्त भएपनि सरकारले सुशान, समृद्धि र सामाजिक न्यायको अभियानलाई उचाइमा पुर्याउने बताएका हुन् ।

‘नेपालको आर्थिक विकास र समृद्धिका लागि जुन बेगका साथ जानु पर्ने थियो, पुरानो गठबन्धनबाट सम्भव भएन,’ उनले भने, ‘जे कदम यो पटक चालेको छुँ, प्रधानमन्त्री पदका लागि होइन, समाजवादको आधार तयार गर्न इमान्दार भएर जोखिम र चुनौती देख्दादेख्दै चालिएको हो । एउटा तप्का बिछिप्त भएको देखिन्छ, तर सबैले बुझेने गरी स्थापित हुन्छ भन्ने बुझेको छु ।’

प्रचण्डले विगतका तीतामीठा अनुभवबाट शिक्षा लिएर राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनताको हक अधिकारका लागि देशभक्त र प्रगतिशील शक्ति एक हुनुपर्ने बताए । ‘संविधानको बारेमा पनि प्रश्न उठ्यो, यो संविधान पूर्ण छ भनेका छैनाँै, सम्झौताको दस्तावेज हो । समाजवादी पंक्तिले जित्दै जाँदा अझ प्रगतिशील र पुँजीवादी शक्तिले जित्दा प्रतिगामी हुँदै जाने खतरा हुन्छ,’ उनले भने ।

समाजवादको जन्म सडक, सदन या सरकारबाट हुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने– ‘समाजवाद जन्मिने भनेको सडकबाटै हो । समाजवादको तयारी गर्न सदन, सरकार र सदनबाट तयारी गरेर सडकबाट निर्णायक ढंगले समाजवाद जन्माउने हो ।’कांग्रेससँगको गठबन्धन तोड्दै प्रचण्डले फागुन २१ गते नेकपा (एमाले)सहितको गठबन्बन बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस