हर्क साम्पाङको ‘सुधारबार’ अभियानमा सहभागी बन्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १५ : ०५
हर्क साम्पाङको ‘सुधारबार’ अभियानमा सहभागी बन्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा आइतवार भएको भेटवार्तामा मन्त्री लामिछानेले हरेक शुक्रवार सञ्चालन भइरहेको प्रमुख साम्पाङको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी बन्ने प्रतिबद्धता जनाएका छन् ।साथै लामिछानेले तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ ।

प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न साम्पाङले गरेको आग्रहमा मन्त्री लामिछानेले प्रहरीलाई ‘आम नागरिकलाई भरः गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिबद्धता जनाएका थिए ।

यस्तै प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको माग गरेका थिए ।

कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो थियो ।भेटवार्तामा उनीहरुबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस