सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगाहाले जित्यो

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, २१ : २०
सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगाहाले जित्यो

चितवन । सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि सेन्ट्रल कलेज २८ बिघाले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा आबुखैरेनीलाई हराउँदै सेन्ट्रल कलेज २८ बिघा च्याम्पियन बनेको हो ।

फाइनलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोल अन्तरले हरायो । २८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिघाले खेलको ५३ औं मिनेटमा सृजनको गोलमा अग्रता लिएको थियो ।

७७ औं मिनेटमा आबुखैरेनी ९ खेलाडीमा सीमित भयो । आबुखैरेनी ९ खेलाडीमा सीमित भएको फाइदा उठाउदै २८ बिघाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिघा २–० ले विजयी हुँदै च्याम्पियन बन्यो । एक गोल र एसिस्ट गरेका सृजन म्यान अफ दि म्याच भए ।

विजेता सेन्ट्रल कलेज २८ बिघाले तीन लाख ३ हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित आबुखैरेनीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । आबुखैरेनीका आकाश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताका विजयी खेलाडीलाई सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)  ले ट्रफी र मेडल प्रदान गरे । सो अवसरमा बोल्दै उहाँले सेन्ट्रल कलेजले चितवनको खेलकुद विकासका लागि निरन्तर सहयोग गरिरहेको बताए । भरतपुरमा पछिल्लो समय खेलकुदका गतिविधि बढिरहेको भन्दै उहाँले कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, यूके, युएसए, युरोप कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा र परामर्शसंगै सामाजिक उत्तरदायित्वको कार्यक्रम निरन्तर गर्दै आइरहेको बताए ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए । प्रतियोगिताको समापन समारोहमा सहभागि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अन्य क्षेत्र जस्तै खेलकुदको समेत हब भएको बताइन् ।