सरकारमा सहभागी हुन नाउपालाई प्रधानमन्त्रीको आग्रह

सफल खबर संवाददाता

शनिबार, १० चैत्र २०८०, ११ : २९
सरकारमा सहभागी हुन नाउपालाई प्रधानमन्त्रीको आग्रह

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरुबिच भेटवार्ता भएको छ । शनिबार उनीहरुबिच भेटवार्ता भएको हो । 

भेटवार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले नाउपालाई एक मन्त्रालय दिने गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । छलफलमा सहभागी नाउपाका संस्थापक नेता एवम् टीकापुरका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए । फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।

नयाँ समीकरणमा बनेको केन्द्र सरकारमा सहभागी हुने, सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार बनाउन टिम बनाउने लगायतका विषयमा छलफल भएको मेयर डंगौराले बताए । यद्यपि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा पार्टीमा अझै छलफल गर्न बाँकी रहेको मेयर डंगौराले बताए ।

प्रतिक्रिया दिनुहोस