माओवादी केन्द्रका नेताहरुको एउटै आवाजः वाम एकता अहिलेको आवश्यकता

रासस

मंगलबार, ११ पुस २०७४, २१ : ०६
माओवादी केन्द्रका नेताहरुको एउटै आवाजः वाम एकता अहिलेको आवश्यकता


काठमाडौँ । नेपालमा कम्युनिष्ट आन्दोलनले गरेको उपलब्धि संस्थागत गर्नका लागि वाम एकता आवश्यक रहेको सहभागी वक्ताले जोड दिएका छन् ।  एकसय चौविसौं माओ जयन्तीका अवसरमा माओ जयन्ती समितिले आज यहाँ आयोजना गरेको ‘वामपन्थी एकताः आवश्यकता र सम्भावना’ विषयक अन्तरक्रियामा उनीहरुले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धि वाम एकताबाट मात्र संस्थागत गर्न सकिने बताए ।

सो अवसरमा नेकपा ९माओवादी केन्द्र०का नेता देवेन्द्र पौडेलले संविधानमा उल्लेख गरिएको समाजवादमा पुग्नका लागि वाम एकता आवश्यक भएको चर्चा गर्दै एकतामा नेताहरुको व्यवस्थापन ठूलो कुरा नभई जनमतलाई अनुमोदन गर्ने कुरा ठूलो भएको बताए ।

“जनताले कम्युनिष्ट पार्टी फुटेको हेर्न चाहँदैनन्, हामी पहिले धेरै फुट्यो, अब जुट्नुपर्दछ”, उनले भने, “त्यसैले अब वाम एकताको विकल्प छैन ।”  सोहि पार्टीका अर्का नेता वामदेव क्षेत्रीले अहिले मुलुक र जनताको आवश्यकता वामपन्थी धुर्वीकरण रहेको बताउँदै कम्युनिष्ट पार्टीले आ–आफ्नो चुलो बालेर नभई एउटै चुलो बालेर मुलुकको आर्थिक समृद्धि बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रकै युवा नेता मणि थापाले राजनीतिक परिवर्तन मात्र नभएर जनतामा आर्थिक परिवर्तनका अनुभूति दिलाउनका लागि पनि अहिले वाम एकताको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

“कम्युनिष्टले खोजेको जस्तो परिवर्तन एउटा पार्टीबाट सम्भव भएन”, उनले भने, “मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनका लागि दुई ठूला कम्युनिष्ट शक्ति मिल्नु आवश्यक छ ।”

वाम बुद्धिजीवी एकराज भण्डारीले मुलुकलाई नयाँ दिशामा रुपान्तरण गर्नका लागि कम्युनिष्ट पार्टीबीच धुव्रीकरण आवश्यक रहेको बताए ।  कानून व्यवसायी मुक्ति प्रधानले कम्युनिष्टले उठाएको एजेण्डाले मात्र मुलुक समृद्धितर्फ अगाडि बढ्ने भन्दै त्यसका लागि कम्युनिष्ट एकताबाहेक अरू विकल्प नभएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस