एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक शुरू

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १५ : २१
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक शुरू

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको १०औं केन्द्रीय महाधिवेशन केन्द्रित महाधिवेशन मस्यौदा समितिको बैठक शुरू भएको छ ।बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा मंगलवार दिउँसोबाट शुरू भएको हो ।

 

बैठकमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन, समाजवादी कार्यक्रम र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।यही चैत ९ गतेसम्म चल्ने बैठकमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिने छ ।

पार्टी अध्यक्ष नेपाललाई राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा. बेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले तयार पारेको सङ्गठनात्मक प्रस्तावमाथि छलफल गरी निर्माणाधीन दस्तावेजलाई पूर्णता दिइने छ ।

ती चार वटा प्रतिवेदनको छलफलपछि मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी रणनीतिक योजना बनाई सबै पक्षलाई समेटेर तयार गरिने दस्तावेजलाई महाधिवेशनमा लैजाने जनाइएको छ ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस