काठमाडौंमा ह्विलचियर दौड प्रतियोगिता​

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १६ : १८
काठमाडौंमा ह्विलचियर दौड प्रतियोगिता​

काठमाडौं। बोधिसत्व इन एक्सन (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा ह्विलचियर दौड प्रतियोगिता सम्पन्न भएको छ ।आज भएको ५ किमी लामो दौड प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपबाट शुरू भई भद्रकाली, शहीद गेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

 

प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहको अलगअलग प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता थियो ।

प्रतियोगिता उद्घाटनमा अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी सङ्युक्त राज्य अमेरिकी विशेष सल्लाहकार सारा मिङ्कारा, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनलगायत सहभागी थिए ।

 

 

कार्यक्रममा मिङ्काराले अपाङ्गता भएका व्यक्तिको महत्व अभिवृद्धि गर्ने समुदाय निर्माणमा खेलकुदको भूमिकाबारे चर्चा गरे ।​मिङ्काराले अपाङ्गता भएका व्यक्तिलाई सीप र रोजगारीसम्बन्धी तालिम प्रदान गर्ने, उनीहरूलाई आफ्नो समुदायमा पूर्णरूपमा सहभागिताका लागि सक्षम बनाउन बीआईएको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।

अपाङ्गता भएका व्यक्ति मैदानमा देखिँदा उनीहरूमा सहभागी हुने आत्मविश्वास बढ्ने बताउँदै उनले यस प्रकारको खेलकुदले सहभागितामा फराकिलो सामाजिक अवरोध कम गर्न मद्दत गर्ने बताए ।

विशेष सल्लाहकार मिङ्काराले विश्वभर अपाङ्गता भएका व्यक्तिको अधिकार र स्वतन्त्रताको क्षेत्र प्रचार गरे।​​ मिङ्कारा हाल आफ्नो तीन दिने नेपाल भ्रमणका क्रममा आएका हुन्।

भ्रमणका क्रममा उनले सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्ने नागरिक समाज संस्थाहरू र अमेरिकी सरकारको शैक्षिक आदानप्रदान कार्यक्रमका सहभागीसँग भेटघाट गर्नुका साथै यूएसएआईडी नेपालको समावेशी विकासलाई अगाडि बढाउन साझेदार संस्थासँग कामका बारेमा जानकारी लिइरहेका नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस