मनी ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने कार्यमा संलग्न तीन जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १६ : २६
मनी ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने कार्यमा संलग्न तीन जना पक्राउ

काठमाडौँ। रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरु सबै भारतीय नागरिक हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठले  भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान  र चन्द्रभान सिंहलाई पक्राउ गरिएको  जानकारी दिए।

परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार गरेका उनीहरु रकम लिएर भाग्दै गर्दा पक्राउ परेका हुन् । उनीहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए ।

बीआर०६सी एल ९७९६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले रकम लुटपाट गर्दै सञ्चालक साहमाथि गोली चलाएका थिए । गोली साहको कञ्चटमा लागेको छ भने उनलाई उपचारका लागि वीरगन्ज पठाइएको छ ।

हतियारसहित आएकाहरुले सञ्चालक साहलाई काउन्टरबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका थिए ।   प्रहरीले अभियुक्तहरुको साथबाट मोटरसाइकलका साथै लुटिएको रकम र  पेस्तोल बरामद गरेको छ । घटनास्थल भारतीय सीमा नजिकै पर्छ ।

प्रतिक्रिया दिनुहोस