नारायणगढ–बुटवल सडक : ठूला पुलमा ‘गर्डर लन्चिङ’ को काम सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १३ : ३१
नारायणगढ–बुटवल सडक : ठूला पुलमा ‘गर्डर लन्चिङ’ को काम सुरु

कावासोती । नारायणगढ–बुटवल सडकखण्ड विस्तार अन्तर्गत ठुला पुलमा ‘गर्डर’ राख्ने काम सुरु भएको छ ।दुई ठुला मेसिन आएसँगै पुलमा ‘गर्डर लन्चिङ’ को काम थालिएको आयोजनाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४२ किलोमिटर पूर्वी खण्डमा अहिलेसम्म ४८ प्रतिशत भौतिक प्रगति भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाले ठुला पुलमा गर्डर राख्ने काम पनि थालेको बताए । उनले भने, “निर्माण कम्पनीले पुलमा बिछ्याउने कङ्क्रिट गर्डर सम्बन्धित पुलको दायाँबायाँ यसअघि नै निर्माण गरिराखे पनि मेसिन अभावमा ‘लन्च’ गर्न सकेको थिएन ।

दुई ठुला मेसिन आएसँगै लोकाहा पुलमा गर्डर लन्चिङको काम सुरु भइसकेको छ ।”

सडकका सानो २२ वटा (माइनर ब्रिज)मा २० वटाको काम सकिएको र बाँकी दुईमा पनि काम भइरहेको खनालको भनाइ छ । निर्माणकै क्रममा पूर्वी खण्डका ठुला १२ पुलमध्ये ११ वटाको उपसंरचना पूरा भएको र लामो पुल अरुणखोलामा पनि निर्माणको काम अघि बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस