‘अबको बजेट फिल्म क्षेत्रलाई पनि हुन्छ’ : मेयर साम्पाङ

सफल खबर संवाददाता

बुधबार, ३० फागुन २०८०, १२ : २६
‘अबको बजेट फिल्म क्षेत्रलाई पनि हुन्छ’ : मेयर साम्पाङ

काठमाडौँ । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई सम्बोधन बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपाल, सुनसरी शाखाले मंगलबार धरानमा आयोजना गरेको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’कार्यक्रममा बोल्दै उनले सो कुरो बताएका हुन् ।

‘नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको छु । केही गर्न त्यसका लागि बजेटको समस्या भएको छ’ उनले भने ‘अबको बजेटमा राख्छु ।’ उनले धरानमा फिल्म छायाङ्कनका लागि सहज हुने गरी आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक सुनाए । भने ‘, म नेपाली कला, संस्कृतिको विकासमा जहिले पनि गम्भीर छु। ’

कार्यक्रममा कलाकार हरिवंश आचार्यले मेयर साम्पाङको काम गर्ने शैलीको आफू फ्यान भएको बताए । उनले, धरानमा फिल्म ‘बलिदान’को छायाङ्कन गरेको स्मरण गर्दै फिल्मका लागि धरान प्रमुख गन्तव्य भएको धारणा राखे ।

फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठुलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । उनले, फिल्म छायाङ्कनका क्रममा आउँदा लोकेशनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे ।

फिल्म ‘महाजात्रा’का नायक विपिन कार्कीले छायाङ्कन स्थलको कहिलेकाहीँ लफडा पर्ने बताए । उनले यसमा यसमा सहजता भयो भने काम गर्न सजिलो हुने धारणा राखे ।

कलाकार रवीन्द्र झाले पनि फिल्म छायाङ्कनका लागि स्टुडियोको आवश्यकता रहेको बताए । उनले, धरानमा पनि फिल्म स्टुडियो भएको खण्डमा काम गर्न सजिलो हुने बताए। 

नायिका वर्षा राउतले पनि लोकेशनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन् । उनले महिला कलाकारहरूलाई छायाङ्कनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन् ।

कार्यक्रममा याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नवीन मेन्याङ्बो, अनाम रङ्गमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र फिल्मको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए । 

चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिम फिल्म प्रचारका लागि देश दौडाहामा छ । सोही अवसरमा चलचित्र पत्रकार सङ्घ, सुनसरीले कार्यक्रम गरेको हो ।