हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

एजेन्सी

बुधबार, ३० फागुन २०८०, ११ : ५६
हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौँ । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरू बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन् । 

विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भूभागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको अल जजिराले जनाएको छ ।  पदबाट राजीनामा दिए पछि अव नयाँ सरकार नबन्दासम्म हेनरी कार्यबहाक प्रधानमन्त्रीको रूपमा रहने छन् । 

उनले एक भिडियो सन्देश जारी गर्दै संक्रमणकालीन परिषद् स्थापना गर्ने र उक्त परिषद्ले प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने बताए । आफू हाइटीको हान्ति र स्थिरता चाहने व्यक्ति भएकाले पदबाट पछि हट्न तयार रहेको उल्लेख गरे ।

हाइटीमा हिंसा लगातार बढेपछि केन्या पुगेका प्रधानमन्त्री हेनरी उतैबाट अमेरिका गएका थिए । विद्रोही समूहले राजधानी पोर्ट-ओ-प्रिन्सको अन्तर्राष्ट्रिय विमानस्थलसमेत कब्जामा लिएपछि फर्किन पाएका थिएनन् । उनले उतैबाट भिडियो सन्देश जारी गरेका हुन् । 

हेनरी अहिले अमेरिकाको पोर्टो रिकोमा रहेको बताइएको छ । हाइटीमा हिंसाका कारण त्यहाँका ३ लाख ६२ हजार नागरिक विस्थापित भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस