पीएनजीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १० : १९
पीएनजीलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौ । हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई हराउँदै फाइनलमा पुगेको छ। 

मगंलबार (आज) बिहान भएको खेलमा नेपालले पीएनजीविरुद्ध ८५ रनको फराकिलो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो। 

यसअघि आइतबार सिरिजको पहिलो खेलमा नेपाल र हङकङले अंक बाँडेका थिए। वर्षाका कारण खेल रद्द भएपछि दुई टोलीले १/१ अंक बाँडेका हुन्। 

आजै हुने लिग चरणको अन्तिम खेलमा पीएनजीले घरेलु टोली हङकङसँग खेल्नेछ। सिरिजको फाइनल बुधबार हुनेछ। 

नेपालले दिएको १ सय ९९ रनको बलियो लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो। 

पीएनजीका लागि हिरी हिरीले बनाएको २८ रन नै सर्वाधिक रह्यो। सेसे बाउ २१ र टोनी उराले १३ रन बनाए। नोसेन पोखानाले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पीएनजीलाई कम स्कोरमा रोक्न कुशल भुर्तेलले ४ विकेट लिए। कुशलले आफ्नो स्पेलमा मात्र १२  रन खर्चे। प्रतिश जिसीले २ विकेट झारे। आकाश चन्द र गुल्सन झा ले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि हङकङको मोङ ककस्थित मिसन ग्राउण्डमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको हो। 

नेपालको जितमा ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक पूरा गरे। पहिलो विकेटका लागि ओपनर कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे। 

कुशल १५औँ ओभरको तेस्रो बलमा ५९ रन बनाउँदा क्याच आउट भए। ३९ बलमा ४ चौका र ४ छक्का हानेका कुशल नोर्मन भानुआको बलमा क्याच आउट हुन पुगे। 

आठौँ ओभरको तेस्रो बलमा विनोद २७ रन जोड्दा क्याच आउट भए। २६ बलमा ३ चौका र ४ छक्का हानेका सन्दीप जोरा ५६ रन बनाउँदा क्याच आउट हुन पुगे। 

लोकेश बम १४ रनमा रन आउट भए।  आरिफ शेख ४ र कप्तान रोहित पौडेल १ रनमा आउट भए। पीएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले समान १ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस