स्याउ गोडमेलमा व्यस्त मनाङका किसान

रासस

सोमबार, २८ फागुन २०८०, १५ : २१
स्याउ गोडमेलमा व्यस्त मनाङका किसान

मनाङ । हिमाली जिल्ला मनाङको मुख्य उत्पादनका रुपमा स्याउ मानिन्छ । यहाँ आलुसँगै स्याउ गोडमेलको समय भएको छ । केही महिना जिल्ला बाहिर रहने मनाङवासी अहिले स्याउ बगैँचा गोडमेलमा व्यस्त छन् ।

हिउँद याममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन् । अनि नाङ्गै बन्छन् स्याउका बोट । त्यसपछि माघ र फागुनमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । अहिले यहाँका किसान तिनै स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा छन् । 

नासों गाउँपालिका–८ ताचैका स्याउ किसान सोलबहादुर गुरुङले यसवर्ष यहाँसम्म हिमपात नभए पनि स्याउ खेती राम्रो हुने गरेको बताए । उनले यतिबेला स्याउ बगैँचा गोडमेलमा व्यस्त भएको बताए । मुख्य आय नै स्याउ भएको बताउँदै उनले भने, “आयस्रोतलाई जोगाउने र उत्पादन राम्रो कसरी हुन्छ भन्नेतर्फ लागेका छौँ ।” यहाँका अधिकांश मानिसको घरमा स्याउ हुने र गोडमेल गर्ने समय भएको उनले सुनाए । 

जाडो छल्न यहाँका स्थानीयवासी बाहिर गएर फर्किएपछि बगैँचा गोडमेल गर्ने गर्दछन् । त्यस्तै नासों–६ तिल्चेका टङ्क गुरुङ पनि स्याउ बगैँचा गोडमेल तथा व्यवस्थापनमा व्यस्त छन् । समयमा नै स्याउ बगैँचाको गोडमेल गरेपछि नै राम्रो उत्पादन गर्न सकिने उनले बताए । उनका अनुसार जिल्लाका स्याउ किसान अहिले बगैँचा गोडमेलमा नै व्यस्त रहेका छन् । यहाँको स्याउको माग तथा खपत राम्रो भएकाले यसतर्फ आकर्षित भएको उनले बताए । 

यतिबेला मनाङको नासों, चामे, ङिस्याङ तथा नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन भइरहेको छ । केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीयवासी बेँसी झर्ने हुनाले केही ढिला गरी मनाङ ङिस्याङ र नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन गरिने किसानको भनाइ छ । 

जिल्लाको मुख्य उत्पादन पनि भएकाले यहाँका अधिकांश किसान स्याउखेतीमा लागेका छन् । यसबाट किसानले राम्रै आम्दानी गर्ने गरेको उनीहरूको भनाइ छ । अरू खेतीको तुलनामा धेरै समय लगानी गर्न नपर्ने स्याउ खेतीले यहाँको आर्थिकस्तर वृद्धि गर्न टेवा पुगेको किसान उमबहादुर गुरुङले बताए । 

फागुन महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, कीराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ ।

बर्सेनी मनाङका किसानलाई कृषि ज्ञान केन्द्रले प्राविधिक व्यवस्था गरी स्याउ बगैँचा व्यवस्थापनबारे तालिम र क्षेत्रमै पुगेर स्याउखेती गर्ने तरिका सिकाउने गरेको छ । बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताए । 

उनले भने, “स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ । विभिन्न स्याउमा लाग्ने रोग सङ्क्रमणलाई प्रतिरोध गर्छ ।” स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढ्ने सहयोग गर्ने उनले बताए । 

बगैँचा व्यवस्थापन गर्दा किसानले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्स्चर छर्किने गरेका छन् । यसो गर्दा स्याउको बोटमा सङ्क्रमण कम हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्स्चर प्रयोग गर्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस