संविधान र संघीयता कार्यान्वयनका कानून निर्माणमा लाग्छौँ : मन्त्री गिरी

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १५ : ०५
संविधान र संघीयता कार्यान्वयनका कानून निर्माणमा लाग्छौँ : मन्त्री गिरी

काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक बाँकी कानून निर्माण गरिने बताएका छन् । सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा व्यवसायीसँगको अन्तरक्रियामा उनले ती कानून निर्माणमा आफू सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कतिपय कानूनमा बाहिरी हस्तक्षेप आउने गरेको व्यवसायीको गुनासोमा मन्त्री गिरीले स्वाधीन अर्थतन्त्र जगेर्ना गर्नु आजको आवश्यकता बताउँदै ‘नेपालको लागि नेपाली’ आफैँले कानून निर्माण गर्ने उल्लेख गरे । पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर बन्दै गएको र युवा पलायन नरोकिएको तर्फ उनको चिन्ता थियो ।

मन्त्री गिरीले देशभर सहकारीमा देखियो समस्या समाधानका लागि पनि कानून संशोधनको आवश्यकता औँल्याएका छन् । सोमबार नै पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका गिरीले झण्झटिला कानूनी प्रावधानका कारण देशका कतिपय विकास निर्माणका कामसमेत रोकिएको भन्दै त्यस्ता कानून संशोधनको आवश्यकता रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस