गण्डकी प्रदेशमाथि पुलिस क्लबको रोमाञ्चक जित

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १३ : २७
गण्डकी प्रदेशमाथि पुलिस क्लबको रोमाञ्चक जित

काठमाडौँ । ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को आइतबार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

जारी प्रतियोगितामा दोस्रो खेल खेलेको पुलिस क्लबको यो पहिलो जित हो । यसअघि पुलिस क्लब आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ५२ रनले पराजित भएको थियो। तेस्रो खेल खेलेको गण्डकी प्रदेशको भने यो तेस्रो हार हो । गण्डकी प्रदेश यसअघि पनि आफूले खेलेको दुबै खेलमा पराजित भएको थियो । आफ्नो पहिलो खेलमा गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेशसँग ४० रनले पराजित भएको थियो । अर्को खेलमा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले सात विकेटले हराएको थियो ।

विराटनगरमा जारी उक्त प्रतियोगिताको आइतबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले १९.३ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

 

पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशका लागि ओपनर इश्वर क्षेत्रीले ४१ रनको योगदान गरे । उनले केवल ३० बलको सामना गरी दुई छक्का र पाँच चौका हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान दिपक डुम्रेले पनि ४० रन बनाए । उनले ३१ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे ।

यसैगरी गण्डकी प्रदेशका लागि चौथो नम्बरका ब्याट्सम्यान दिनेश बुढामगरले पनि ४६ रनको योगदान गरे । उनले ४५ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काएका थिए । पुलिस क्लबका बलर अभिषेक कार्कीले तीन विकेट लिए । दिपक सेरल, शरद भेषावकर र ललित भण्डारीले पनि एक-एक विकेट हात पारे । 

जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबका लागि शंकर राणाले अर्धशतकीय पाली खेले । पाँचौं नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५१ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका शंकरले केवल ३० बलको सामना गरी तीन छक्का र पाँच चौका पनि हिर्काए । 

पुलिस क्लबका लागि तेस्रो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठले पनि २८ रनको योगदान गरे । उनले २३ बलमा चार चौका पनि प्रहार गरे । ओपनर रोहन बीके १७ बलमा एक छक्का र तीन चौकाको मद्दतले १९ रन बनाउँदै पेभेलियन फर्किए । 

छैटौँ नम्बरका ब्याट्सम्यान शरद भेषावकरले पनि १८ रन बनाए । उनले २२ बलमा एक छक्का हिर्काएका थिए । कप्तान मञ्जित श्रेष्ठले १३ रन बनाए । अभिषेक कार्की एक रनमा अविजित रहे ।

पुलिस क्लबले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । गण्डकी प्रदेशका बलर अमृत गुरुङ र सन्दीप पराजुलीले दुईदुई विकेट लिए । सुवाष भण्डारी र चन्द्र पौडेलले पनि एक(एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस