सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १३ : २४
सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो संयन्त्र

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘सरकारको आगामी नीति तथा कार्यक्रमको प्राथमिकता निधारण गर्नका लागि संयन्त्र गठन गरेको हो । सबै दलबाट दुई÷दुई जना सदस्य रहनेगरी संयन्त्र बनाइएको छ’, उनले भने ।  एमालेबाट रिमालसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल रहेका छन् । 

यसैगरी यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा  एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् । फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी  एमालेसँग गठबन्धन गरेका थिए । यसअघि मन्त्रालय भागबण्डाका लागि बनाइएको चार सदस्यीय कार्यालयलाई नै विस्तार गरेर संयन्त्र बनाइएको छ ।