भारतका शीर्ष निर्वाचन अधिकारीले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १३ : २२
भारतका शीर्ष निर्वाचन अधिकारीले दिए राजीनामा

काठमाडौं। नयाँ दिल्ली–आम निर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्नेछन् ।

मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एकजनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिएका छन् । अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गरेको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उनले राजीनामा गरेको कारण भने बताएको छैन । एनडीटीभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिएको उल्लेख गरेको छ ।

निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन् ।

प्रमुख विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताए । ‘निर्वाचन आयुक्त अरुण गोयलले लोकसभा (संसदीय) निर्वाचनको ठीकअघि राजीनामा दिनु विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त चिन्ताजनक हो,’ उनले भने, ‘निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले कसरी काम गरिरहेको छ र सरकारले कसरी उक्त संस्थामाथि दबाब दिएको छ भन्नेबारेमा कुनै पनि पारदर्शिता छैन ।

धेरै जनमत सर्वेक्षणले आम निर्वाचनमा मोदी र उनको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले सजिलै जीत हासिल गर्ने सङ्केत गरेका छन् । गत वर्ष एक प्यू सर्वेक्षणमा करिब ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मकरूपमा हेरेको पाइएको थियो । 

युगभले फेब्रुअरीमा सहरी मतदाताहरूमा गरेको सर्वेक्षणमा भाजपाले हरेक उमेर र लिङ्ग जनसाङ्ख्यिकीमा धेरै विपक्षी पार्टीमाथि सजिलै अगाडि बढिरहेको देखाएको थियो। 

प्रतिक्रिया दिनुहोस